
बैंकिङ खबर/ जेठ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले बैंकहरुले मासिक रुपमा ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेसँगै जेठदेखि कर्जाको ब्याजदर थप घट्ने भएको हो ।
केन्द्रीय बैंकले हालै एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।
यसअघि बैंकहरुले त्रैमाशिक आधारमा मात्रै आधार दर गणना गरी सार्वजानिक गर्ने गरेका थिए। आधार दरमा भएको परिवर्तन अनुसार कर्जाको ब्याजदर घटबढ हुने भएकोले त्रैमास सकिएपछि मात्रै कर्जाको ब्याजदर घट्ने गरेको थियो।
अब बैंकहरुले हरेक महिना पछिल्लो ३ महिनाको औषत आधार दर निर्धारण गरी सार्वजानिक गर्नुपर्ने छ। सोहि आधार दर अनुसार हरेक महिना ऋणीको कर्जाको ब्याजदर परिवर्तन हुने छ । ‘कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।
यसैबीच नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने बताए ।
उनले भने, ‘विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको छ । वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने छ ।’ बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अङ्कमा झारेको थियो ।
वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७.९९ प्रतिशतमा झारेको थियो । निक्षेपको ब्याज घटेकै कारण कर्जाको ब्याजदर घट्ने भएको हो ।




