
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राखेर गभर्नर महाप्रसाद अधिकारीले त्यस्ता समस्या समाधानमा गम्भीरता देखाउन निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र गुनासो सुन्ने अधिकारीहरुसँग छलफल गरेको थियो । राष्ट्र बैंकले गुनासो सुनुवाइ इकाइमा गुनासो बढ्दै गएपछि राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओ र गुनासो सुन्ने विभागीय प्रमुखसँग बिहीबार करिब साढे २ घण्टा छलफल गरेको हो ।
छलफलमा राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी, दुवै डेपुटी गभर्नर र नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सहित ४ जना विभागीय प्रमुखको उपस्थिति थिए । सेवाग्राहीबाट अनावश्यक शुल्क नलिन र डिजिटल बैंकिङलाई सुरक्षित बनाउन पनि गभर्नर अधिकारीले निर्देशन दिएका छन् ।
हालको व्यवस्थाअनुसार बैंकहरुले ३–३ महिनामा आधार दर प्रकाशित गर्नुपर्छ । उक्त आधार दरका आधारमा ब्याजदर निर्धारण हुन्छ । यही व्यवस्थामा रहेर महिनैपिच्छे ब्याजदर घटाउन नसकिने बैंकरहरुले बताएका छन् । बैंकरहरुले यस निर्देशन कार्यान्वयनलाई लिएर लिखित रुपमा असहमति जनाउने बताएका थिए ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको गुनासो सुनुवाइ इकाइ गभर्नर कार्यालय अन्तरगत लगेर निर्देशकले नेतृत्व गर्नेगरी छुट्टै डिभिजनको रुपमा राष्ट्र बैंकले अगाडि बढाएको छ । यस्तोमा राष्ट्र बैंकको उक्त इकाइमा आएको उक्त गुनासोको समाधान कसरी गर्ने बैंकहरुले आएका गुनासोहरुलाई कसरी सम्बोधन गरिरहेका छन् भनेर छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ ।




