
बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालमा खुकुलो मौद्रिक नीति बनाउने समय भइनसकेको जनाएको छ । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति बनाउने बेला भइनसकेको कोषको दाबी छ ।
विश्वबजारमा आर्थिक संक्रमणको जोखिम कायमै रहेको, मूल्यवृद्धि राष्ट्र बैंकले इंगित गरेको भन्दा धेरै रहेकोलगायत कारण पनि मौद्रिक नीति लचिलो बनाउन नहुने कोषले जनाएको छ ।
‘कुनै पनि निर्णय तथ्यांकमा आधारित भएर गर्नुपर्छ, अहिले नेपालको आयात क्रमिक रूपमा बढिरहेको छ, मूल्य वृद्धि पनि उच्च दरमै छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा आईएमएफका डिभिजन डेपुटी चिफ टुरुनेन जार्कवले भने, ‘अहिले बाह्य जोखिम कायमै रहेकाले पनि तत्कालै खुकुलो मौद्रिक नीति ल्याउनुहुँदैन ।’ राष्ट्र बैंकले स्वायत्त निकायका रूपमा काम गर्न नपाइरहेको समेत कोषले बताएको छ ।
अझै पनि नेपालमा वित्तीय स्पेस धेरै रहेको कोषको भनाइ छ । यसका लागि अनावश्यक खर्च घटाउने र आवश्यक खर्च बढाउनुपर्ने कोषको सुझाव छ । अर्थतन्त्रको संरचनात्मक सुधारका लागि कडा निर्णय गर्न पनि सरकारपछि हट्न नहुने कोषले बताएको छ ।
अहिले राजस्वमा आयातको योगदान ठूलो भए पनि आईएमएफले दिइरहेको विस्तारित कर्जा सविधाअन्तर्गत यसको भार कम गराउन सहयोग पुग्ने कोषको भनाइ छ ।




