Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘नागरिक बचतपत्र’ बिक्री खुला, यस्ता छन् विशेषता

२०८० बैशाख २४ गते

बैंकिङ खबर/ नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले आज वैशाख २४ गतेबाट नागरिक बचतपत्र–२०८५ बिक्री खुला गरेको छ। केन्द्रीय बैंकले रु. २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री खुला गरेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

यो बचतपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ।

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्। यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।

यो बचतपत्रको निष्कासन आउँदो जेठ ३० गते हुनेछ भने साँवा भुक्तानी २०८५ जेठ ३० गते हुनेछ। इच्छुकले अनलाइनबाट वा नेपाल राष्ट्र बैंकको वेबसाइटमा गएर नागरिक बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफूलाई पायक पर्ने बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुको सहयोग लिई अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ।

यो बचतपत्रमा आउँदो जेठ २४ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। यो ५ वर्षे अवधिको बचतपत्र हो। यो बचतपत्र खरिद गरिसकेपछि स्टक वा प्रमिसरी नोटका रुपमा लिन सकिने विकल्प राखिएको छ।