May 5th, 2023

निक्षेप संकलनमा सुधार, तर छैन कर्जाको माग

बैंकिङ खबर/गत वर्षको तुलनामा यस वर्ष ऋण लगानी आधा घटेको छ । तरलतामा क्रमिक रुपमा सुधार भएर ब्याज घट्ने संकेत देखिँदासमेत ऋणको माग आउन सकेको छैन। गत असार मसान्तयता बैंकहरुको कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँले बढिसकेको छ ।

अहिले कुल निक्षेप ४५ खर्ब ४१ अर्ब नाघेको छ। कर्जा लगानी भने एक खर्ब २० अर्बले मात्र बढेको छ। कुल ऋण ४२ खर्ब ९५ अर्ब रुपैयाँ नाघेको छ।  राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको सीडी रेसियो ८५.३७ प्रतिशत रहेको छ। भने अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ।

अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने विषयमा चौतर्फी बहस भइरहेका बेला बजारमा कर्जाको माग ठप्प भएको बैंकहरुको भनाई छ । तर व्यवसायीहरुले कर्जा नपाएको गुनासो गर्न छोडेका छैनन् ।

ऋणनै नतिर्नेसम्मका अभियान चलेपछि बैंकर्सहरुले ऋण प्रवाह कम गराएका छन्। यता निष्कृय कर्जा (एनपीएल) समेत बढ्न थालेपछि नयाँ ऋण प्रवाह भन्दा उठाउनमा केन्द्रित गरेका छन्। बैंकर्सहरुले असार मसान्तसम्म खराव कर्जाको बढ्दो दरलाई स्थिर र कम गर्ने प्रयास गरेका छन्। जसका कारण ऋण विस्तार ठप्प जस्तैछ। 

निष्कृय कर्जा (एनपीएल) पछिल्लो ९ माहिनामा गतवर्षको तुलनामा १९८.२३ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो। बैंकका ऋणीले ऋणको ब्याज र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको छ।

वाणिज्य बैंकहरुले चैत अन्त्यमा ४३ खर्ब ९ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको वैशाख १५ गतेसम्ममा कर्जा लगानी मात्रै ४२ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ। पछिल्लो १५ दिनमै १४ अर्ब ऋण घटेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.६ प्रतिशतले बढ्ने लक्ष्य राखेको थियो। राष्ट्र बैंकको गत फागुनको तथ्यांक अनुसारमा यो मात्रै ४.५५ प्रतिशतले वृद्धि भएको छ।

गत असारमा ४६ खर्ब ८८ अर्ब कर्जा लगानी भएकोमा फागुनमा ४९ खर्ब २ अर्ब रूपैयाँ पुगेको छ। ब्याजदर घटेसँगै बैंकहरूको निक्षेप संकलन समेत यो अविधमा २० अर्ब रूपैयाँले घटेको छ।