Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायमै छः राष्ट्र बैंक

२०८० बैशाख २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्रमा सुधारसँगै तरलता व्यवस्थापन सहज भए तापनि अन्तर्राष्ट्रिय कारणले गर्दा मूल्यमा परेको दबाब अझै कायम रहेको जनाएको छ ।

गत वर्षभन्दा व्यापार घाटामा केही कमी आएको, विप्रेषण प्रवाहमा वृद्धि र पर्यटन क्षेत्रमा आएको सुधारका कारण शोधनान्तर स्थिति पनि बचतमा रहन थालेकोले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

विकास खर्च र कर्जा प्रवाहमा कमी आउँदा आर्थिक गतिविधिमा केही शिथिलता आएको छ भने सरकारको राजस्व सङ्कलनमा गिरावट आएको अवस्था छ । बाह्य क्षेत्रको सहजतासँगै बैंकिङ प्रणालीको तरलतामा सुधार भइरहेको र बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधि सुधार हुँदै जाने देखिने राष्ट्र बैंकले जनाएको छ ।

यसलगायत राजस्व चुहावट नियन्त्रणमा अपनाइएको थप सक्रियताका कारण राजस्व सङ्कलनमा सुधार हुने अपेक्षा गरिएको छ । नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकोले विश्व अर्थतन्त्रको प्रभाव सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक सदैव प्रतिबद्ध रहेको जनाइएको छ । बैंकिङ क्षेत्रको स्रोत साधनलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको दीर्घकालीन सुधारको लागि समग्र उत्पादन र उत्पादकत्व बढाउनेतर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालालाई राष्ट्र बैंकले अपिल समेत गरकेो छ ।