
बैंकिङ खबर/नेपाल राष्ट्र बैैंकले यस वर्ष बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिमा उल्लेख्य प्रगति भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार विगत एक वर्षको अवधिमा वाणिज्य बैंकहरू मर्जर तथा प्राप्तिमा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २७ बाट २१ मा झरेको छ ।
बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ फागुन मसान्तसम्म कुल २५७ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १८४ संस्थाको इजाजत खारेज हुन गई ७३ संस्था कायम भएका छन्।
विगत एक वर्षमा वित्तीय पहुँच उल्लेख्य विस्तार भएको छ । २०७९ फागुन मसान्तसम्म २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक वटा पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या १२० रहेको छ ।
२०७९ फागुन मसान्तसम्ममा वाणिज्य बैंकका ५०४९, विकास बैंकका ११३०, वित्त कम्पनीका २८२ र लघुवित्त वित्तीय संस्थाका ५,१६८ गरी बैंक तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्या ११,६२९ पुगेको छ ।
यसबाट प्रतिबैंक तथा वित्तीय संस्थाको शाखाबाट औसतमा करिब २,५१० जनसङ्ख्याले सेवा प्राप्त गर्नसक्ने देखिन्छ । २०७९ फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा कुल निक्षेप खाता सङ्ख्या चार करोड ९२ लाख पाँच हजार र कर्जा खाता सङ्ख्या १८ लाख ५५ हजार रहेको छ ।
२०७९ फागुन मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूको उपस्थिति रहेको छ । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा यस्तो शाखा खुल्न बाँकी रहेकोमा उक्त स्थानीय तहमा पनि शाखा स्थापनासम्बन्धी स्थानीय समस्याको निराकरण भई वाणिज्य बैंकको शाखा स्थापना हुने क्रममा रहेको छ ।




