Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विद्युतीय भुक्तानीमा उछाल: क्यूआर कोड तीन गुणाले वृद्धि

२०८० बैशाख १८ गते

बैंकिङ खबर/ पछिल्लो समय विद्युतीय भुक्तानी गर्नेको संख्यमा उल्लेख्य वृद्धि भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्यूआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ ।

नगद नै नभएपनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो । पछिल्लो समय चिया पसलदेखि तरकारी पसलसम्म लोकप्रिय बनेको क्यूआर कोडमार्फत हुने भुक्तानीको कारोबार एक वर्षमा झन्डै तीन गुणाले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको फागुनमा सात अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार क्यूआर कोडमार्फत भएकामा चालु आर्थिक वर्षको फागुनसम्ममा झन्डै तीन गुणाले बढी अर्थात् २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसरी हेर्दा एक वर्षमा १३ अर्ब एक करोड ४० लाख रुपियाँले बढेको हो ।

एक वर्षअगाडि २३ लाख सात हजार ९०४ कारोबार सङ्ख्या रहेको क्यूआर कोड एक वर्षमा झन्डै तीन गुणाले वृद्धि अर्थात् ६७ लाख ५० हजार ५९२ पुगेको छ । जब कि माघ महिनामा ५७ लाख ८२ हजार २६५ रहेको थियो । यसरी हेर्दा एक महिनामा नौ लाख ६८ हजार ३१७ कारोबार संख्या थपिएको छ ।

यस्तै एक वर्षमै मोबाइल बैंकिङमार्फत हुने कारोबार झन्डै दुई गुणाले बढेको छ । अघिल्लो वर्षको फागुनमा एक खर्ब सात अर्ब ११ करोड ९० लाख रुपियाँ रहेको मोबाइल बैंकिङमार्फत हुने कारोबार यो वर्ष फागुनमा आइपुग्दा झन्डै दुई गुणाले बढी अर्थात् एक खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपियाँ भएको छ । जुन एक महिनामै १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ थपिएको हो ।

कारोबार संख्याको हिसाबले हेर्दा पनि एक वर्षअगाडि एक करोड ५५ लाख ५९ हजार ९७० रहेकामा झन्डै दुई गुणाले बढेर दुई करोड ४५ लाख ६६ हजार १०७ पुगेको छ । यसरी हेर्दा एक महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबार संख्या २३ लाख ५० हजार २७ थपिएको छ ।

यस्तै वालेटमार्फत हुने कारोबार पनि एक वर्षअगाडि १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ रहेकामा एक वर्षपछि १८ अर्ब १५ करोड ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यस्तो कारोबार रकम एक वर्षमा एक अर्ब ५५ करोड ७० लाख रुपियाँ बढेको छ भने माघ महिनामा भन्दा एक अर्ब ३८ करोड रुपैयाँले बढी हो । माघ महिनामा वालेटमार्फत हुने कारोबार रकम १७ अर्ब ११ करोड ८० लाख रुपियाँ थियो ।

कारोबार सङ्ख्याको हिसाबले हेर्दा पनि गत वर्षको फागुनमा एक करोड ४० लाख ३३ हजार ४९० रहेकामा ठ्याक्कै एक वर्षपछि एक करोड ९७ लाख ८७ हजार २५८ पुगेको छ । जुन माघ महिनाको भन्दा २८ लाख २६ हजार ४३० ले बढी हो । माघ महिनामा वालेटमार्फत हुने कारोबार सङ्ख्या एक करोड ६९ लाख ६० हजार ८२८ रहेको थियो ।

एक वर्षमा एटीएममार्फत हुने कारोबार १२ अर्ब ११ करोड ८० लाख रुपियाँले बढेको छ । अघिल्लो वर्षको फागुनमा ६९ अर्ब ६१ करोड ६० लाख रुपियाँ बराबरको कारोबार एटीएममार्फत भएकामा यो वर्ष फागुनसम्म आइपुग्दा ८१ अर्ब ७३ करोड ४० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

जब कि माघ महिनाको भन्दा चार अर्ब ६९ करोड ३० लाख रुपैयाँले बढी हो । गत माघ महिनामा ७७ अर्ब चार करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । कारोबार संख्याका आधारमा हेर्दा पनि अघिल्लो वर्ष ८५ लाख ७२ हजार ६२० रहेकामा यो वर्ष १६ लाख पाँच हजार ३३६ ले बढेर एक करोड एक लाख ७७ हजार ९५६ कारोबार संख्या पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार डेबिट र क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षको फागुनमा ७२ अर्ब ५९ करोड ९० लाख रुपियाँ बराबरको कारोबार डेबिट कार्डमार्फत भएकामा यो आर्थिक वर्षको फागुनमा ८५ अर्ब १४ करोड १० लाख रुपियाँ बराबरको कारोबार भएको हो । जुन एक वर्षमा १२ अर्ब ५४ करोड २० लाख रुपैयाँले बढेको छ । जुन गत माघ महिनाको भन्दा पाँच अर्ब ४४ करोड ७० लाख रुपियाँले बढी हो । माघ महिनामा ७९ अर्ब ६९ करोड ४० लाख रुपियाँको कारोबार भएको थियो ।

सङ्ख्यात्मक रूपले हेर्दा पनि गत वर्ष ९३ लाख १९ हजार ८८४ रहेकामा एक वर्षपछि एक करोड नौ लाख ४० हजार ५३२ पुगेको छ । यस्तै क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि गत वर्ष एक अर्ब १४ करोड ८० लाख रुपैयाँ बराबर कारोबार भएकामा यो वर्ष एक अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबर कारोबार भएको हो । यसरी हेर्दा एक वर्षमा २६ करोड ६४ लाख रुपियाँले बढी हो ।