Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१४ वाणिज्य बैंकलाई राष्ट्र बैंकद्वारा २५ पटक कारबाही

२०८० बैशाख १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ९ महिनामा १४ वाणिज्य बैंकलाई २५ पटक कारबाही गरेको छ । राष्ट्र बैंक स्थापनाको ६८औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले विभिन्न निकाय तथा सेवाग्राहीबाट प्राप्त उजुरीका आधार गरिएको स्थलगत निरीक्षणपछि १४ बैंक कारबाहीमा परेको जानकारी दिएका हुन् ।

२०७९ फागुन मसान्तसम्म ८६ वटा निवेदन तथा उजुरी प्राप्त भएको उनले बताए । उजुरीका सम्बन्धमा विभिन्न वाणिज्य बैंकमा ४० पटक विशेष स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिइएको गभर्नरको भनाइ छ ।

राष्ट्र बैंकबाट जारी नीति, निर्देशन र व्यवस्थाको उल्लंघन गरेबापत बैंकहरु चालू आर्थिक वर्षको फागुनसम्ममा १४ वटा वाणिज्य बैंकलाई २५ पटक जरिवाना तथा कारबाही गरिएको हो ।

हाल २१ वटा वाणिज्य बैंक सञ्चालनमा छन् भने आठवटा राष्ट्रिय स्तर र नौवटा प्रादेशिक स्तरका गरी १७ वटा विकास बैंक तथा १५ वटा राष्ट्रिय स्तर र दुई वटा प्रादेशिक स्तरका गरी १७ वटा वित्त कम्पनी सञ्चालनमा छन् ।

वित्त कम्पनीमध्ये दुई वटा समस्याग्रस्त अवस्थामा रहेको गभर्नर अधिकारीले जानकारी दिए । तोकिएको अनिवार्य नगद मौज्दात अनुपात कायम नगर्ने दुई वटा विकास बैंक तथा एक वटा वित्त कम्पनी र कर्जा निक्षेप अनुपात कायम नगर्ने चार वटा विकास बैंक तथा दुई वटा वित्त कम्पनीलाई हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । नियामकीय व्यवस्थाबमोजिम विपन्न वर्ग कर्जा प्रवाह नगर्ने एउटा विकास बैंकलाई हर्जाना लगाइएको गभर्नर अधिकारीले जानकारी दिए ।