Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको कर्जाः कुन बैंकको ब्याज कति प्रतिशत ?

२०८० बैशाख १४ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर (बेस रेट) घट्ने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग आवद्ध गराएको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई हरेक त्रैमासको औसत आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ भने घट्दा घट्ने गर्छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा बैंकहरुको आधार दर घट्दो क्रममा देखिएको हो । यसले कर्जाको ब्याजदर घट्दै जाने देखिन्छ ।

२१ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरुको बेस रेट चालु आबको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा घटेको छ । बैंकहरुले १२.१३३ प्रतिशत रहको मुद्दती निक्षेपको ब्याजदर गत माघबाट ११ प्रतिशतमा झरेको थिए ।

पुस मसान्तमा दोस्रो त्रैमास सकिएसँगै १ माघबाट निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा बैंकहरुको आधार दर तेस्रो त्रैमासमा घटेको हो । जसले गर्दा १ वैशाखदेखि लागु हुने कर्जाको ब्याजदर पनि बेस रेट घटेको अनुपातमा स्वतः घट्नेछ ।

गत पुसको तुलनामा चैतमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको बेसरेट भने बढेको बैंकहरुको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ । अन्य १९ वटा बैंकको बेसरेट भने बढेको छ ।

नेपाल बैंकर्स संघले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म मात्रै प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने निर्णय गरेका छन् ।
राष्ट्र बैंकले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियम दर तय गरी मासिक रुपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ ।

बैंकहरुको २०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकको आधार दर चैत मसान्तमा ८.६ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७ प्रतिशत रहेको छ । यस्तै एकल अंकमा आधार दर रहेका बैंकमा नेपाल बैंक, एभरेष्ट बैंक र नबिल बैंकक रहेको छ ।

नेपाल बैंकको आधार दर ९.९२ प्रतिशत, एभरेष्टको ९.९४ प्रतिशत र नबिल बैंकको ९.९९ प्रतिशत छ । यस्तै चैतमा सबैभन्दा धेरै बेसरेट भएको बैंक भने सनराइज हो, बैंकको बेसरेट ११.३४ प्रतिशत रहेको छ । माछापुच्छ्रे बैंकको बेसरेट ११.३१ प्रतिशत र सिटिजन्स बैंकको ११.१४ प्रतिशत बेसरेट रहेको छ ।

राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा लिने ब्याजर र कर्जा दिने औसत ब्याजदरको अन्तर घटाउँदै लगेको छ । उक्त अन्तर ४.४ प्रतिशत रहेकोमा चैतमा ४.२ प्रतिशत र आगामी असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई समायोजन गर्न पनि बैंकहरुले कर्जाको प्रिमियम घटाउर कर्जाको ब्याजदर घटाउँदै लैजानुपर्ने अवस्था छ ।

यस्तै बैंकहरुले १ वैशाखदेखि लागु हुने गरी निक्षेपको ब्याजदर पुनः घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत रहेको ब्याजदर १ वैशाखदेखि क्रमशः ९.९९ प्रतिशत र ७.९९ प्रतिशत कायम भएको छ । यस्तै बचतमा ६ देखि ८ प्रतिशत रहेको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम गरेका छन् ।