Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको बढ्दो खराब कर्जाः अर्थतन्त्रमा थप चुनौती

२०८० बैशाख १२ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखिएको हो । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो ।

चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । बैंकहरुको अहिलेको खराब कर्जाको दरलाई हेर्दा आगामी दिनमा पाँच प्रतिशतसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।

२१ मध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो । वित्तीय विवरणानुसार कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ । ग्लोबल आईएमई बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ । हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको छ ।

कुमारी बैंकको खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ । लक्ष्मी बैंकको खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ । माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल बैंकको खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ । एनआईसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ । एनएमबि बैंकको खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ ।

प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो । प्राइम बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.०७ प्रतिशतबाट ३.८८ प्रतिशत पुगेको छ । सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ । सिद्धार्थ बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ । सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ ।

अर्थतन्त्रमा थप चुनौती

नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताउँछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यक्ष कोइरालाले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने,‘अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको छ ।

मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतीहरु भोग्नुपर्ने अवस्था देखिएको छ ।’

उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरुको निष्कृय कर्जाको ब्याजदर समेत बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौती बढेको भन्दै सरकारले तत्काल बैंकविरुद्धको अराजक आन्दोलन रोक्न माग गरे । उनले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गरे ।

उनले पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पारे । उनले समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताए । उनले पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको दाबी गरे । उनले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथ भन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको बताए ।

उनले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताए । उपाध्यक्ष कोईरालाले अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको बताए । उनले चालु आर्थिक वर्षको वैशाख महिना सम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको बताए । उनले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताए ।

कोइरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताए । उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको बताए ।