April 23rd, 2023

तरलता सहज हुँदै गएको छः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अहिले तरलता सहज हुँदै गएको जनाएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले लगानी योग्य रकम बढेकाले उद्योगीहरुलाई फाइनान्सियल रिसोर्स अभाव नहुने बताए ।

उनले भने,“तपाइहरु चिन्ता नगर्नुस् । तपाईँहरु ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरु लगानी गर्ने स्थितिमा छन्,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।” गर्भनर अधिकारीले व्याजदर मात्र ठूलो समस्या नभएको बताएका छन् । उनले ५६/५७ सालअघि कर्जाको व्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।

गर्भनर अधिकारीले अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको बताए । जसका कारण अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो । उनले व्याज भोलिको दिनमा घट्ने भन्दै यसलाई समस्याको रूपमा नलिन आग्रह गरे । गभर्नर अधिकारीले बैंकहरूसँग दुई खर्ब लगानीयोग्य पुँजी भएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्र विग्रियो भनेर आत्तिनुपर्ने अवस्था नभएको बताए । “अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ । सीडी रेसीयोबाट हेर्दा बैंकहरुसँग दुई खर्ब लगानी योग्य पुँजी छ,” उनले भने ।

गभर्नर अधिकारीले ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए । उनले गएको वर्ष झण्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको वीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे ।