बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले व्याजदर मात्र ठूलो समस्या नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ५६/५७ सालअघि कर्जाको व्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।
गर्भनर अधिकारीले अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको बताए । जसका कारण अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो । उनले व्याज भोलिको दिनमा घट्ने भन्दै यसलाई समस्याको रूपमा नलिन आग्रह गरे ।
बैंकमा दुई खर्ब लगानीयोग्य पुँजी छ, आत्तिनु पर्दैन
गभर्नर अधिकारीले बैंकहरूसँग दुई खर्ब लगानीयोग्य पुँजी भएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्र विग्रियो भनेर आत्तिनुपर्ने अवस्था नभएको बताए । “अहिले जुन फाइनान्सियल तनाव थियो, त्यसमा क्रमशः सुधार हुँदै गएको छ । सीडी रेसीयोबाट हेर्दा बैंकहरुसँग दुई खर्ब लगानी योग्य पुँजी छ,” उनले भने ।
गभर्नर अधिकारीले ११ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए । उनले गएको वर्ष झण्डै अढाई खर्बभन्दा माथि डेफिसिट भएको वीओपी अहिले सहज स्थितिमा रहेको जिकिर गरे । उनले अहिले १४८ अर्बको सकारात्मक बचतको स्थितिमा देश रहेको तथ्य प्रस्तुत गरे ।
मासिक दशौँ अर्बको अनलाइन भुक्तानी हुन्छ
अधिकारीले मासिक दशौँ अर्बको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत हुने गरेको बताए ।गर्भनर अधिकारीले यसले प्रविधिका क्षेत्रमा पनि महत्वपूर्ण सुधारको संकेत भएको बताए । उनले हाल कनेक्ट आईपीएसमार्फत मासिक ५० अर्बको र क्यूआरमार्फत मासिक २० अर्बको भुक्तानी भइरहेको बताए । “ई–कमर्स र डिजिटल पेमेन्टलाई सघाउ पुगोस् भनेर डलर कार्ड ल्याएका छौँ, धेरै मान्छेलाई फाइदा पुगेको छ,“ उनले भने ।
तरलता सहज हुँदै गएको छ
गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । उनले लगानी योग्य रकम बढेकाले उद्योगीहरुलाई फाइनान्सियल रिसोर्स अभाव नहुने बताए ।
“तपाईँहरु चिन्ता नगर्नुस् । तपाईँहरु ठूला आयोजना निर्माण गर्नुस् । बैंकहरु लगानी गर्ने स्थितिमा छन्,” उनले भने, “उत्पादनमूलक क्षेत्रमा लगानी बढोस् भन्ने हाम्रो लक्ष्य हो । त्यहीअनुसार नीतिमा सुधार हुन्छन् ।”
अर्थतन्त्रमा उतारचढाव आउँछ, त्यसलाई थेग्ने हो
अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताए । उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्ने बताए । “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ । त्यसलाई थेग्ने हो,” उनले भने । आएका उतार चढावलाई स्वीकार गर्दै व्यवसायी अघि बढेको बताए ।