April 12th, 2023

कर्जाको ब्याजदर ०.२ प्रतिशतसम्म घट्ने

बैंकिङ खबर/ निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेसँगै वैशाखबाट कर्जाको ब्याजदर पनि केहि घट्ने भएको छ । निक्षेपको ब्याजदर वैशाखको लागि घटाउन लागिएको कारणले नभएर केही महिनादेखि यस्तो ब्याज घटेकोले कर्जाको ब्याजदर पनि सामान्य दरले घट्ने भएको छ।

त्यसबाहेक बैंकहरूले असारसम्म कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशतमा कायम गर्नुपर्ने हुन्छ। अहिले नै यो दर ४.२ प्रतिशत हाराहारी आइसकेको छ।

बैंकर्सहरूका अनुसार कर्जाको ब्याजदर ०.१५ प्रतिशतदेखि ०.२ प्रतिशत विन्दुसम्म घट्न सक्ने सम्भावना छ। बैंकसँग राम्रो पहुँच रहेका ऋणीहरूले भने १० प्रतिशत हाराहारीकै दरमा कर्जा पाउने सम्भावना रहेको एक पूर्व बैंकरको अनुमान छ।

बुधबार बसेको बैंकर्स संघको बैठकले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ। बुधबार बसेको संघको बैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ । साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहनेछ। कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ।