Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, मुद्दतीमा एकल अंक कायम

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको हो । यो निर्णयसँगै वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएको छ ।

संघका अनुसार व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । त्यस्तै संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन् । हालसम्म व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।

त्यस्तै बचत खाताको ब्याजदर पनि घट्ने भएको छ । वैशाखदेखि बैंकहरुले साधारण बचत खातामा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन् । त्यस्तै कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ ।

अहिले निक्षेपमा घटेको ब्याजदरको प्रभाव भने केही महिनापछि मात्रै कर्जाको ब्याजमा पर्नेछ । नयाँ आधार दर गणनापछि बैंकहरुले कर्जाको ब्याजदर सोअनुसार सामायोजन गर्ने गर्छन् । निक्षेपको ब्याजदर घट्दा आधारदर पनि घट्न जान्छ । हाल ऋणीहरुबाट वाणिज्य बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् ।

Ad