बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले नेपालका बैंक वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको बताए ।
उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताए । उनले सबै वित्तीय संस्थाको तथ्यांक बलियो हरेको बताए । उनले बैंक तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको पनि बताए ।
उनले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताए ।
उनले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए । उनले बैंक तथा वित्तीय संस्था सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रमा आगामी दिनमा सुधार हुने बताए । उनले बैंक र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदरस्थिर भए पनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए ।
विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको उनले बताए । पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढे पनि धेरैमाथि नपुगेको उनले बताए । राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ। चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ। यता सरकारको चालु खाता घाटामा सुधार भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ। अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो।
त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ। गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ। फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ।
माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो। गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति दुई खर्ब रुपैयाँले घाटामा थियो। असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ।
चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति बचतमा गएको हो।
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ। माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो। माघ मसान्तसम्म महंगी ७.८८ प्रतिशत थियो। गत वर्षको तुलनामा भने महंगी बढेको हो।