सेयर बजारले सुधारको गति लिएको छ । बुधबार सामान्य सुधार देखिएको बजार साताको अन्तिम दिन ६.२५ अंकले बढेर १७५९.७१ अंकमा पुगेको छ । केही समयदेखि लगातार बजार घट्दा निराश भएका लगानीकर्तालाई विहीबारको बजारले केही हदसम्म राहत प्रदान गरेको छ । यद्यपि, परिसूचक बढ्दा पनि कारोबार भने खासै उत्साहजनक भएको छैन । दिनभरिमा एक सय ३६ वटा कम्पनीको १० लाख १० हजार सात सय २३ कित्ता सेयर चार हजार पाँच सय ३२ पटक खरिदविक्रि हुँदा कुल ६९ करोड ६४ लाख २७ हजार चार सय ६५ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
माछापूछ्र्रे बैंकको सबैभन्दा धेरै १० करोड ३१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंकको साढे छ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुमारी बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी र शिखर इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने सानिमा बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
कमाउने कम्पनीहरुको अग्रस्थानमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ, जसका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, सिभिल बैंक र सिर्जना फाइनान्सका सेयरधनीले क्रमशः ९.८७, ९.८० र ९.४३ प्रतिशतका दरले कमाएका छन् । छिमेक लघुवित्त, साझा विकास बैंक, समिट माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, किसान माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा मिरमिरे माइक्रोफाइनान्स, लुम्बिनी फाइनान्स, गुहेश्वरी मर्चेन्ट, देवः विकास बैंक, एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त लगायतका सेयरधनी छन् ।
विकास बैंक र जलविद्युत् समूहले विहीबार बजार बढाएका छन् । यी दुई समूह क्रमशः १८.१७ र १५.७२ अंकले बढेका छन् । बैंकिङ र अन्य समूह क्रमशः ८.४२ र १.७३ अंकले बढेका छन् । होटल, फाइनान्स र बीमा क्रमशः १५.५६, २.५७ र ४१.२३ अंकले घटेका छन् ।
अर्को सातादेखि तिहार सुरु हुनेछ । तिहारमा सार्वजनिक विदा हुने हुँदा सेयर बजार खुल्दैन । दशैँपछिको दुई हप्ता गिरावटमै बिताएको बजार तिहारपछि कुन अवस्थामा खुल्छ त्यो त समय आएपछि नै थाहा हुनेछ ।




