बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जा सुविधा दिने योजनामा केन्द्रीय बैंक रहेको बताएका छन् । उद्योगी व्यवसायीहरुसँगको भेटमा गभर्नर अधिकारीले होटल, जलविद्युत् लगायतका उत्पादनमुलक क्षेत्रमा कोरोना महामारीको क्रममा दिए जस्तै पुनरकर्जा सुविधा दिने योजनामा केन्द्रीय बैंक रहेको बताए । केन्द्रीय बैंकले बैशाखमा ३५ अर्ब रुपैयाँ पुनरकर्जामार्फत् बजारमा पठाउने तयारी गरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले राष्ट्र बैंकले सरकारबाट वित्तीय स्रोत नलिई सहुलियतपूर्ण ब्याजदरमा पुनरकर्जा लगानी गर्नु उपयुक्त नभएको बताउँदै आएपछि पुनरकर्जाको रकम घट्दै आएको थियो ।
२०७८ माघमा राष्ट्र बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ सहुलियत पूर्ण ब्याजदरमा पुनरकर्जा लगानी गरेको थियो । २०७९ माघ मसान्तमा उक्त रकम ७ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ ।
गत मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकले सहुलियत दरमा १ खर्ब ३७ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरेकोमा पुस मसान्तमा उक्त रकम ११ अर्ब ७५ करोडमा झरेको थियो ।
गत असार मसान्तमा राष्ट्र बैंकले १ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ पुनरकर्जा लगानी गरेको थियो । केन्द्रीय बैंकले आफ्नो क्षमताभन्दा बढी पुनरकर्जा लगानी गरेको आइएमएफको आपत्तिपछि असार यता पुनरकर्जाको रकम घट्दो थियो ।
के हो पुनरकर्जा
एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो । हाल कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका थिए ।
चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब भन्दा बढी पुनरकर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएका शर्तहरुको अधीनमा रही पुनरकर्जा सुविधा उपलब्ध गराउँदछ ।




