नवराज कुँवर – रुपन्देही रुद्रपुरका हिरामणि ढकाल २० वर्षको उमेरमै कोरिया पुगे । पढेलेखेका युवा समेत विदेशिन थालेपछि उनलाई लाग्यो नेपालमा पढेर केही नहुने रहेछ । त्यसपछि उनले कोरियाको लागि प्रयास गरे र सफल पनि भए । सामान्य परिवारमा जन्मिएका उनी आफ्नो करिअरभन्दा पनि बढी आफ्नो परिवारको तात्कालिन गर्जो टार्नेबारे सोचेर कोरिया हानिए । किसानको छोरा भएर पनि त्यति धेरै खेतीपातीको काम नगरेका उनले कोरिया पुगेपछि मात्रै थाहा पाए, काम के हो ? दुःख के हो ? भनेर । ‘मैले त्यहाँ डेढ वर्ष त समुद्रको माछा टिपेँ’, उनले स्मरण गर्दै भने, ‘त्यसपछि दुई वर्ष बोरामा भारी पनि बोकेँ ।’
त्यति दुःख गर्दा पनि उनले सुरुमा ६० हजार रुपैयाँभन्दा बढी कमाउन सकेनन् । झण्डै १२ वर्ष कोरिया बसेका उनले कालान्तरमा केही सन्तोषजनक तलब पाउन थालेका थिए । तर त्यतिबेलासम्म उनले आफ्नो विचार परिवर्तन गरिसकेका थिए । ‘पढेलेखेकाहरु सबै विदेश हानिए, काम गर्नेहरु पनि विदेश नै हानिए । अब देशमा काम गर्ने सीप भएको मान्छेहरु खोइ त ?’ पहिला आफुलाई कमजोर ठान्ने हिरामणिले अब सोच्न थाले, ‘पढेर मात्रै हुने केही होइन, व्यवहारतः जसले गर्छ ऊ सफल हुन्छ । मैले व्यवहारतः काम पनि गरेको छु । म मेहनत गर्न पनि सक्षम छु । अब आफ्नै देशमा गएर केही गर्छु ।’ १२ वर्ष अर्काको भूमिमा काम गर्दा सिकेको सीप र मिहेनत अब आफ्नै देशमा कार्यान्वयन गर्ने सोच आएपछि उनी नेपाल फर्किए ।
नेपाल सरकारले कृषिमा लाग्न चाहने युवाहरुको लागि विशेष व्यवस्थाहरु गरेकोबारे समाचारहरु उनले सञ्चामाध्यमबाट पढ्थे र सुन्थे । त्यसैले उनले त्यसबारे नेपाल आएपछि थप बुझे । बुझ्ने क्रममा उनी आफ्नै गाउँमा त्यतिखेर भर्खरै शाखा विस्तार गरेको शाइन रेसुङगा डेभलपमेन्ट बैंक, रुद्रपुरमा पुगे । ‘शाइन रेसुङगा बैंकका म्यानेजर बिमल सरले मलाई थप हौसला प्रदान गर्नुभयो’, उनले भने, ‘उहाँकै सल्लाहअनुसार मैले बुटवलमा रहेको एउटा घर धितो राखेर बैंकबाट लोन लिएँ र माछापालनमा लागेँ ।’
झण्डै दुई वर्षअघि शाइन रेसुङगा डेभलपमेन्ट बैंकबाट २० लाख रुपैयाँ ऋण लिएर उनले सुरु गरेको माछा पालन व्यवसाय अहिले झण्डै ३० लाखभन्दा बढीको भएको छ । आफ्नै व्यक्तिगत १० कट्ठाबाहेक अहिले उनले ६ बिगाह जग्गा भाडामा लिएर माछापालन गरिरहेका छन् र फाइदा पनि लिईरहेका छन् । उनले माछासंगै हाँस, र कुखुरा समेत पालेका छन् । ‘एक वर्षअघिसम्म माछाबाट अपेक्षाअनुरुप फाइदा लिन सकिनँ ।’ उनले भने, ‘अहिले राम्रै छ, व्यापारको हिसाबले पनि म सन्तुष्ट छु ।’
हाल उनले तीन जनालाई आफ्नो फार्ममा रोजगारी दिएका छन् । पूर्णिमा फिसरी नामको फार्मबाट अहिले उनले उन्नत जातका माछाका भुरा तथा हाँस र लोकल कुखुराका चल्लाहरु समेत विक्री गर्दै आएका छन् । फार्मको आम्दानी राम्रै भएकाले बैंकको ऋणसमेत समयमै तिर्न उनलाई कुनै समस्या छैन ।
बैंकलाई बुझ्नेले यसबाट फाइदै फाइदा लिन सक्ने हिरामणिको भनाई छ । बैंकबाट १०/१२ प्रतिशत तिर्नुपर्ने भएपनि पाएको पैसालाई सही ठाउँमा सदुपयोग गर्न सक्ने हो भने त्योभन्दा दोब्बर कमाउन सकिने उनले बताए । सरकारी स्तरबाट पनि युवालाई तालिम तथा सीप प्रदान गर्ने खालको कार्यक्रमहरु ल्याउनुपर्नेमा उनले जोड दिए । देश समृद्ध बनाउन तल्लो स्तरबाटै नागरिकहरु सचेत हुने र आफ्नो लागि अरु कसैले गरिदिँदैन आफैले गर्नुपर्छ भनेर काम गर्न थाल्ने हो भने देश बन्न कुनै समय नलाग्ने हिरामणिले बताए ।
रुद्रपुर गाविस रुपन्देहीको एउटा ग्रामिण भेग मानिन्छ । सो गाविसमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पनि पातलो छ । ती बैंक तथा वित्तीय संस्थामा कारोबार गर्नेको संख्या पनि पातलै छ । यद्यपी सो क्षेत्र कृषि तथा उत्पादनमूलक व्यवसायका लागि अति सम्भावित मानिन्छ । बुटबलबाट भण्डै दुई कोष पश्चिममा रहेको रुद्रपुरमा बैंकबाट ऋण लिएर उद्यमशील बनेका हिरामणि अहिले सो क्षेत्रका उदाहरणीय कृषक बनेका छन् ।