२०७९ चैत्र २० गते

अब वित्तीय साक्षरतामा डिजिटल बैंकिङ समेट्नुपर्ने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल (विद्युतीय) बैंकिङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्न र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहने गरी मार्गदर्शन तयार पारिएको छ । योजना तयार पार्दा लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार हेरेर कार्यक्रम चलाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

लक्षित ग्राहकको वर्गीकरणसमेत गर्नुपर्नेछ । कुनै रोजगारमा आबद्ध भएका, कृषक, साना उद्यमी, विद्यार्थी, महिला, युवा, रेमिट्यान्स पाउने व्यक्तिका लागि फरक–फरक खालको वित्तीय साक्षरता आवश्यक पर्ने भएकाले ग्राहकको वर्गीकरण आवश्यक पर्ने राष्ट्र बैंकद्वारा जारी मार्गदर्शनमा उल्लेख गरिएको छ।

Financial-Literacy-Guideline-2022