
बैंकिङ खबर/ नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भूवन दाहालले बैंक ब्याजदर ९ प्रतिशतको हाराहारीमा घटाउन सकिने बताएका छन् । मिडिया इन्टरनेशनल नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्रःबहसमा निकास’ विषयक अन्तरक्रियामा पूर्व अध्यक्ष दाहालले अहिले बैंकहरुसँग ऋण दिन सक्ने क्षमता रहेको र ब्याजदर घटाउन सक्ने अवस्था रहेको बताए ।
उनले भने भने, ‘गत वर्ष २०७८ साल पुसमा सय रुपैयाँ बैंकसँग पैसा हुँदा ९० रुपैयाँसम्म लोन दिएको अवस्था छ । त्यो समय झन्डै ९० प्रतिशतको हाराहारीमा बैंकले लाने दिएको अवस्था थियो । त्यो बेला पैसाको आवश्यकता थियो । दवाव थियो । त्यो बेला दबाबका कारणले ब्याजदर बढ्न थाल्यो । अहिले ९० प्रतिशतको स्थिति छैन । सिडि रेसियो ८६ प्रतिशत भन्दा तल छ । २ खबर भन्दा बढी ऋण प्रवाह गर्न बैंकहरुसँग पैसा छ ।’
दाहालले उद्योगी व्यवसायीहरु राष्ट्र बैंक वा बैंकर्स संघसँग जाँदा डेटासहित जान पनि आग्रह गरे । ‘बैंकसँग लोन दिने पैसा पनि छ । त्यसकारण व्याजदर ९ प्रतिशतको हाराहारीमा पनि घटाउन सक्ने देखिन्छ । तथ्यांक लिएर गयौं भने व्याजदर घट्ने ठूलो ठाउँ देख्छु ।’
लगानीयोग्य रकम अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको उनले बताए । कुनैपनि वस्तुको मूल्य माग र आपूर्तिले निर्धारण गर्ने उनले बताए । ‘जब कर्जा प्रवाह बढ्छ त्यसपछि अर्थतन्त्र पनि चलायमान हुन्छ,’ उनले भने, ‘ लगानी घट्दा अर्थतन्त्रमा संकूचन आएको हो ।’
अहिलेको समस्याको पहिलो कारण भनेको खर्च गर्ने रकमको अभाव र दोस्रो ब्याजदर वृद्धि भएको उनले बताए । उद्योगी र व्यापारी छुट्याउनु पर्ने व्यवसायीको मागलाई नियामकले पनि सम्बोधन गर्नु पर्ने उनको भनाइ छ । एक अर्ब भन्दा बढी कर्जा लिनेहरूलाई सार्वजनिक कम्पनीमा जाने प्रावधान बनाएर धनी र गरिब बीचको खाडल कम गर्न सकिने उनले बताए ।
हेर्नुहोस् भिडियो




