March 27th, 2023

बैंकर्ससँग गभर्नरको छलफलः भन्छन्, ‘कोही आत्तिनु पर्दैन’

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका सिईओहरुसँग सोमबार चार घण्टा छलफल गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार दिउँसो ३ बजे याक एन्ड यती होटेलमा वाणिज्य बैंकका सीईओहरुसँग चार घण्टा छलफल गरेको हो । नियमन विभागले सीईओहरुलाई ‘समसामयिक विषयमा’ भन्दै छलफलका लागि डाकेको थियो । दिउँसो साढे तीन बजेदेखि शुरु भएको छलफल राति पौने आठ बजेसम्म चलेको थियो ।

बैंकर्सहरुका कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारीले ‘आत्तिनु पर्ने अवस्था नरहेको’ बताए । छलफलका क्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकवित्तको अवस्थाका बारेमा जानकारी लिएका थिए । सो क्रममा राष्ट्र बैंकले तयार पारिएको लिस्ट अनुसार अधिकारीले प्रमुख कार्यकारी अधिकृतहरुको नाम बोलाउँदै आफ्नो बैंकको कुरा राख्न लगाएका थिए । गभर्नरले पालो दिएका प्रमुख कार्यकारीहरुले आफ्नो धारणा राखेका थिए ।

गभर्नरले बैंकहरुको खराब ऋण र रिकभरीका बारेमा चासो राखेका थिए । उनले अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने र बैंकहरुलाई के हेरिदिनु पर्ने हो भनेर सोधेका थिए । गभर्नरको भनाइ उद्धृत गर्दै एक प्रमुख कार्यकारीले भने, ‘कोही आत्तिनु पर्दैन । अहिले बैंकले सबै निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्था छ ।’

गभर्नर अधिकारीले आगामी दिनमा बैंकहरुको खराब ऋण अनुपात अलिकति बढे पनि आत्तिनु पर्ने अवस्थामा नपुग्ने बताएका थिए । गभर्नर अधिकारीले राष्ट्र बैंकले हरबखत बैंकहरुलाई सहयोग गर्ने बताए पनि नियमन र अनुपालनमा भने राष्ट्र बैंकले सम्झौता नगर्ने बताएका थिए । छलफलका क्रममा ब्याजदरका विषयमा भने कुरा नउठेको बताइएको छ ।

छलफलका क्रममा बैंकहरुले अहिलेको स्रोतबाट ऋणीलाई सहयोग गर्न अवस्था नरहेको बताएका थिए । गभर्नर अधिकारीले प्रमुख कार्यकारीहरुलाई निक्षेपकर्ता र ऋणी दुबैलाई अहिलेको अवस्था बुझाउन र सही सूचना दिन आग्रह गरेका थिए ।