मंगलबार नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा कायम भएको छ । अन्य समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १३३.४६ अंकले घटेको छ भने होटल ३५.६३ अंकले घटेको छ । बैंकिङ १९.४६ अंकले घट्दा विकास बैंक १७.४३ अंकले घटेको छ भने जलविद्युत् ०.५१ र फाइनान्स २.३९ अंकले घटेका छन् । अन्य समूह भने स्थिर रहेको छ ।
कारोबार रकममा पनि मंगलबार उल्लेख्य गिरावट आएको छ । सोमबार ९२ करोडको कारोबार भएको बजार मंगलबार ७१ करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा एक सय २७ वटा कम्पनीको सात लाख ६४ हजार नौ सय २४ कित्ता सेयर चार हजार पाँच सय ५३ पटक खरिदविक्रि हुँला कुल ७१ करोड ३२ लाख ३२ हजार पाँच सय दुई रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै साढे छ करोडभन्दा माथिको कारोबार भएको छ भने एभरेष्ट बैंकको पाँच करोड र माछापूछ्रे बैंकको चार करोडमाथिको कारोबार भएको छ । जनता बैंकको झन्डै तीन करोडको सेयर कारोबार हुँदा एनएमबी बैंकको दुई करोड ८५ लाख, बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ७८ लाख, शिखर इन्स्योरेन्सको दुई करोड ७६ लाख, कुमारी बैंकको दुई करोड ७० लाख, सानिमा बैंकको दुई करोड ५२ लाख र लुम्बिनी जेनेरल इन्स्योरेन्सको एक करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबारदेखि कारोबार खुलेको सिभिल बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.८ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने सिनर्जी फाइनान्सका सेयरधनीले ९.७ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । यति डेभलपमेन्ट बैंकका सेयरधनीले ६.८४ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, प्राइम कमर्सियल बैंक लगायतले पनि कमाएका छन् ।
एनएमबी बैंकको सेयरधनीले ६ प्रतिशतका दरले गुमाउँदा नेरुडे लघुवित्त र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले साढे ५ प्रतिशतको हाराहारीमा गुमाएका छन् । कामना विकास बैंकका सेयरधनीले ५ प्रतिशतका दरले गुमाएका छन् । रिडि हाइड्रोपावर, कसमस डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, ललितपूर फाइनान्स, टुरिजम डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



