March 21st, 2023

विदेशी कम्पनीबाट १० ठूला बैंकको सुपरिवेक्षण गरिँदै

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोषले १० ठूला वाणिज्य बैंकको स्थलगत विस्तृत सुपरिवेक्षण अन्तर्राष्ट्रिय लेखा परीक्षक समूहबाट गराउने भएको छ । कोषले विस्तारित ऋण सुविधाको अनुमोदन पूर्व राष्ट्र बैंकसँग ठूला वाणिज्य बैंकहरूको लेखा परीक्षण कार्य अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट गराउने शर्त राखेको हो ।

विस्तारित ऋण सुविधा अन्तर्गत कोषले ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण सुविधा नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ । यही मार्च २०२३ सम्म, ऋण र संपार्श्विक मूल्याङ्कनमा मूल्याङ्कनमा विशेष ध्यान दिएर नयाँ नियामक ढाँचा अनुसार बैंकहरूको ऋण पोर्टफोलियोहरू समीक्षा गर्न तेस्रो–पक्ष अर्थात् अन्तर्राष्ट्रिय लेखा परिक्षण संस्थाको सहयोगमा १० ठूला बैंकहरूमा कर्जाको सदाबार हरितिकरण, सामूहिक कर्जा र कर्जाको केन्द्रीकरणबारे सघन सुपरिवेक्षण शुरु गर्नेछौं, भन्ने लिखित प्रतिबद्धता नेपाल राष्ट्र बैंकले कोष समक्ष व्यक्त गरेको छ। आगामी ६ महिनाभित्र सुपरिवेक्षण कार्य सक्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

दक्षिण एशियाली मुलुकहरुमध्ये नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा सबैभन्दा न्यून रहेको छ । विश्व बैंकको प्रतिवेदनका अनुसार दक्षिण एशियाली मुलुकहरूमध्ये खराब कर्जाको अनुपात भारतको ६‍.५, बंगलादेशको ८ प्रतिशत र भुटानको ८‍.४ प्रतिशत रहँदा नेपालको १.२ प्रतिशत मात्र रहेको थियो । विदेशी दातृ निकायले बैंकले कर्जा चुक्ता नगरेका ऋणीलाई ब्याज भुक्तानीका लागी थप कर्जा दिएर कर्जालाई सदाबहार हरित बनाइ रहेको आशंका गर्दै आएका छन् ।