March 20th, 2023

बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः गभर्नर अधिकारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गतको लघुवित्त संस्था सुपरीवेक्षण विभागको आयोजनामा आइतबार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुसँगको अन्तरक्रियाका क्रममा गभर्नर अधिकारीले अहिले बैंकवित्तमा ग्लोबल्ली समस्या देखिएको बताए । त्यसको अवसर नेपालमा पनि देखिएको उनको भनाइ छ ।

सबै मिलेर यसलाई समाधानको बाटोतिर लाग्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । अहिले बाहिर असम्बन्धित व्यक्तिहरुले आन्दोलन गरिरहेको उनले बताए । बैंकवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंकले कमिटी बनाएको त्यसमा लघुवित्त बैंकर्स संघको समेत प्रतिनिधित्व रहेको भन्दै उनले लघुवित्तमा देखिएका समस्या छिट्टै समाधान हुने बताए ।

गभर्नर अधिकारीले बैंकवित्तविरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘कर्जा लिएपछि तिर्नुपर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ ।’

डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले बैंकवित्त र लघुवित्त क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गरिरहेको बताए । राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको पनि उनले बताए ।

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्त संस्थाहरुमा लामो समयदेखिको कोभिड–१९ र तरलताका कारण समस्या देखिएको बताए । कतिपय ऋणीहरुलाई बढी कर्जा भएकै कारण तिर्न समस्या भएको भन्दै उनले बाहिर लघुवित्तका बारेमा भ्रम छर्ने काम भइरहेको र यसलाई चिर्नुपर्ने बताए ।

अहिलेको समस्याको कारण डुब्लुकेशन भएको भन्दै एउटै व्यक्तिलाई धेरै संस्थाबाट कर्जा दिँदा समस्या हुने गरेको उनले बताए । यसलाई हटाउनका लागि राष्ट्र बैंकले एउटा ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संसथाले ऋण दिन पाउने व्यवस्था गरेपनि यो यो लङ ट्रमका लागि ठिकै भएपनि एकै पटक कार्यान्वयन गर्दा झन् समस्या हुने बताए ।

अन्तरक्रियामा ६४ वटै लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो । अन्तरक्रियामा लघुवित्तमा देखिएका समस्याहरु, बजारमा देखिएको आन्दोलनलाई कसरी आ–आफ्नो तरिकाबाट समाधाान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।