सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.५ अंकले घटेर १७६८.८९ अंकमा कायम भएको छ । कारोबार रकम पनि आइतबारको तुलनामा थोरै ओरालो लागेको छ । आइतबार ९६ करोडको कारोबार भएको बजारमा सोमबार ९२ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा एक सय २५ वटा कम्पनीको १० लाख २३ हजार दुई सय ८५ कित्ता सेयर चार हजार सात सय ९७ पटक खरिदविक्रि हुँदा कुल ९२ करोड ८९ लाख ६२ हजार छ सय १७ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
फाइनान्सबाहेक सोमबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ३८.५६ अंकले घटेको छ भने होटल २४.३७ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः १८.२६, ६.३९, १५.२८ र ४.०५ अंकले घटेका छन् । फाइनान्स भने ४.८२ अंकले उकालो लागेको छ ।
कारोबारका आधारमा सोमबार स्टान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ, जसको १० करोड ७७ लाख ४७ हजार चार सय ९६ रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंकको झन्डै पौने आठ करोडको कारोबार भएको छ भने लुम्बिनी जेनेरल इन्स्योरेन्सको पौने सात करोडभन्दा माथिको कारोबार भएको छ । माछापूछ्रे बैंक र कुमारी बैंकको तीन करोड ८० लाखभन्दा माथिको सेयर कारोबार हुँदा नेको इन्स्योरेन्सको साढे तीन करोडको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स र एनएमबी बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको साढे दुई करोडमाथिको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबारदेखि नेप्सेमा कारोबार सुचारु भएको सिर्जना फाइनान्सको (वित्तीय संस्था) को सेयरमूल्य ३३२.१० प्रतिशतले बढेको छ । रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ९.९८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । कामना विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, राप्तीभेरी विकास बैंक लगायतले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा सोमबार ललितपूर फाइनान्स छ, जसका सेयरधनीले ६.५३ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सिनर्जी फाइनान्सका सेयरधनी ६.२५ प्रतिशतका दरले गुमाउँदा पोखरा फाइनान्सका सेयरधनीले ५.१९ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ४.७६ प्रतिशतका दरले गुमाएका छन् । सेवा विकास बैंक, जेविल्स फाइनान्स, लुम्बिनी फाइनान्स, नमस्ते वित्तीय संस्था, सेती फाइनान्स, ज्योति विकास बैंक लगायतले पनि गुमाएका छन् ।



