March 13th, 2023

‘अराजक’ बन्दै बैंकविरुद्धको आन्दोलन, मकवानपुरमा बैंक बन्द गर्न पत्राचार

बैंकिङ खबर/ बैंकहरुले चर्को ब्याज बढाएको भन्दै उद्योगी, व्यवसायीहरु लामो समयदेखि आन्दोलनरत छन् । आइतबार उद्योगी ब्यवसायीले माइतीघरमा विरोध प्रदर्शन गरे । प्रदर्शनका क्रममा ‘ब्याज दर हामीलाई चर्को भो ! गरिखान गाह्रो भो !’ भन्दै नारा लगाएका थिए ।

यस्तै सोमबार उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।
यस अघि पनि उद्योगी व्यवसायीले केहि दिन अगाडि कैलालीका उद्योगी व्यवसायीले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी नै गरेका थिए । बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका हुन्। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएको थियो ।

बैंक नै बन्द गर्न प्रत्येक बैंकलाई पत्र

उद्योगी व्यवसायीहरुले मंगलबार एकदिन बैंक बन्द गर्न आग्रह गर्दै प्रत्येक बैंकलाई पत्र पठाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला शाखा मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बैंकहरुलाई पत्र पठाएर सोमबार बैंक बन्द गर्न आग्रह गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले विरोध जनाएको र सोही विरोधलाई सहयोग स्वरुप मंगलबार बैंक बन्द गर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गरेको हो ।

‘आर्थिक मन्दीको कारण उद्योगका उत्पादनहरुको बिक्रीमा गम्भीर धक्का लागेको छ, व्यवसायीहरुको न्यून बिक्रीको कारण आर्थिक सन्तुलन बिग्रिएको छ, उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई टुवा पुर्याउन एक अंकको ब्याजदर कायम गरी राहत दिन यहाँ मार्फत् अनुरोध गर्दै फागुन ३० गते हाम्रो अनुरोधलाई सघाउन बैंक बन्द गरिदिन अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

उद्योगी व्यवसायीहरुले बैंक बन्द नै गर्नका लागि पत्र पठाएपछि बैंकर्सले भने बैंक बन्द नगर्न आफ्ना शाखाहरुलाई आन्तरिक सर्कुलर गरेका छन् ।  नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बैंकका शाखाहरु बन्द नगर्न बैंकका म्यानजेरहरुलाई सर्कुलर गरेको बताएका छन् । उनले शाखा कार्यालयहरुलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सहयोगमा बैंक खोल्न पत्राचार गरेको बताए ।

बैंकको ऋणमा १ देखि २ प्रतिशतसम्म व्याजदर सस्तो हुने

महासंघका दुई धार

ब्याजदरका विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघमा पनि दुई धार उत्पन्न भएको छ । वरिष्ठ उपाध्यक्ष बन्न लागेका दिनेश श्रेष्ठ ब्याजदरका विरुद्धमा लागेका छन् । स्वतः अध्यक्ष बन्न लागेका अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल ऋण लिएपछि ब्याज तिर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । यस्तै एक पक्ष भने बैंककोविरुद्धमा आन्दोलनमा रहेका छन् ।

ब्याजदर घटाउन भन्दै वित्तीय सेवा नै अवरोध गर्ने कार्य अराजक भएको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । उनी विगतमा पनि ‘ब्याजदर बढी भयो’ भन्दै आफूलाई ३ पटक प्रधानमन्त्रीकोमा उभ्याइएको स्मरण गर्छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकवित्तविरुद्धका भ्रमहरुलाई चिर्न आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘कर्जा लिएपछि तिर्नुपर्छ, यसमा कुनै छुट हुँदैन, राष्ट्र बैंकले कर्जा लिएपछि तिर्नुपर्छ भनिरहेको छ, अहिले कर्जा नलिने मान्छेले आन्दोलन गरेका छन्, कर्जा लिनेहरुले चुक्ता गरिरहेका छन्, यस विषयमा राष्ट्र बैंक सजग छ ।’