
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ। जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १२ खर्ब २८ अर्ब पाँच करोड छ। त्यस्तै, राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ५५ अर्ब २८ करोड बराबर रहेको छ। माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ४ प्रतिशत छ।
आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, यो मुद्रा सञ्चितिले नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने देखिएको छ। माघ मसान्तसम्ममा कायम रहेको विदेशी विनिमय सञ्चिति नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २८ दशमलव पाँच प्रतिशत बराबर हो।
यसैबीच चालू आर्थिक वर्षको सात महिनाको अवधिमा रु. ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको सात महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार सात सय ६७ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठबराबर पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु. सात खर्ब ५९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो।




