
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रका लागि सकारात्मक ढाडस आवस्यक रहेको बताउनुभएको छ । ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’ कार्यक्रमका उहाँले कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्व ऊर्जा सङ्कट तथा मूल्यवृद्धिलगायतका विश्वव्यापी समस्याको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको बताउँँदै गभर्नर अधिकारीले अहिले अर्थतन्त्रको बाह्य क्षेत्र बिस्तारै सुधार हुँदै गएको बताउनुभयो ।
त्यस्तै, नेपालको अर्थतन्त्र सुधार्न संरचनागत सुधार आवस्यक रहेको पनि उहाँले बताउनुभयो । “हामीसँग प्रशस्त चुनौती छन् । हाम्रो संरचनागत सुधार आवश्यक छ । सँगसँगै सकारात्मक कुरा पनि जरुरी छ । हाम्रो शोधनान्तर स्थिति बचतमा छ । गतवर्षको तुलनामा बैङ्कको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) घटेको छ । हाम्रोजस्तै अर्थतन्त्र भएका विश्वका अरु मुलुकभन्दा मूल्यवृद्धि कम छ” गभर्नर अधिकारीले भन्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको सही उपयोग हुन नसकेको पनि गभर्नर अधिकारीले बताउनुभयो । “बैङ्कले पैसा दिने तर त्यसलाई सदुपयोग गर्न सकिएन भने प्रतिफल आउँदैन । अहिले उत्पादन क्षेत्र भन्दापनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयो ।” उहाँले भन्नुभयो । यद्यपि, राष्ट्र बैङ्कले उत्पादन क्षेत्रको कर्जा बढाउनका लागि क्षेत्रगत कर्जा विस्तारमा जोड दिएको गभर्नर अधिकारीले बताउनुभयो ।



