असोज महिनामा सरकारले लक्ष्यभन्दा १५.०६ प्रतिशतले बढी राजस्व असुली गरेको छ । सरकारले असोज महिनामा ३९ अर्ब ४२ करोड १८ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ४४ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ राजस्व असुली भएको हो ।
चालू आर्थिक वर्षको तीन महिनामा सरकारले वार्षिक लक्ष्यको तुलनामा २२.४५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षको असोजसम्म १ खर्ब १४ अर्ब ७८ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब २७ अर्ब ३ करोड ६७ लाख रुपैयाँ राजस्व असुली भएको छ । यसअवधिको राजस्व लक्ष्यभन्दा १०.६७ प्रतिशतले बढी हो । भदौसम्म ८२ अर्ब ७ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजसम्म प्राप्त राजस्वमध्ये राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मार्फत १ खर्ब २६ अर्ब ५८ करोड १३ लाख र एकल खाता कोष (टीएसए)मार्फत ४५ करोड ५४ लाख रुपैयाँ राजस्व उठेको छ ।
यो ३ महिनामा १ खर्ब २९ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च विनियोजित बजेटको १२.३७ प्रतिशत हो । चालू वर्ष १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ खर्च गर्ने सरकारी योजना छ । यसअवधिमा भएको खर्चमध्ये चालू खर्च १९.११ प्रतिशत (१ खर्ब १७ अर्ब ९४ करोड ६७ लाख), पूँजीगत खर्च ३.४२ प्रतिशत (१० अर्ब ६६ करोड ८५ लाख) र वित्तीय व्यवस्थाअन्तर्गत ०.९२ प्रतिशत (१ अर्ब १० करोड २२ लाख रुपैयाँ) खर्च भएको छ ।
चालू वर्ष चालू खर्च ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख, पूँजीगत खर्च ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख र वित्तीय व्यवस्थाका लागि १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ विनियोजन भएको थियो ।



