March 9th, 2023

ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

बैंकिङ खबर/नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेको छ ।

हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

अहिले धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारीमा छ। यसअनुसार बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने भएको छ। बैशाखदेखि आधार दर अझै घट्ने हुँदा कर्जाको ब्याजदर अझै घट्ने छ।

यस्तै संघले बचत खाताको ब्याजदर पनि केहि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो। अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म हुने छ।

यस्तै कल निक्षेपको ब्याजदर भने घटाएर ३ प्रतिशतमा झारिएको छ। संघको बैठकले मुद्दती निक्षेपको ब्याजदर भने तत्काल नघटाउने निर्णय गरेको छ।