Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न पाइँदैनः राष्ट्र बैंक

२०७९ फाल्गुन २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने जनाएको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। ‘एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले भनेको छ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर तथा परिवर्तनशील हुन सक्ने सूचना उल्लेख छ। ‘स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तनअनुसार थपघट हुन सक्छ’, सूचनामा भनिएको छ।

परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन्। ‘यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ’, राष्ट्र बैंकले भनेको छ।

यसैगरी परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आधार दरमा भएको परिवर्तनले ब्याजदरमा के–कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्नेबारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रस्ट हुन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।