गत साता सुधारको क्रममा रहेको सेयर बजारले यो साता पुनः लगानीकर्तालाई निराश तुल्याएको छ । गत साताको अन्तिम दिन बढेको बजारले यो साताको सुरुवात गिरावटबाटै गरेको छ । आइतबार नेप्से परिसूचक १२.०८ अंकले घटेर १७८२.३९ अंकमा कायम भएको छ । होटल र विकास बैंकबाहेक आइतबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह २८.७६ अंकले घटेको छ । बैंकिङ, फाइनान्स, बीमा र अन्य क्रमशः १७.९९, ४.०८, १२.१५ र ९.२५ अंकले घटेका छन् । होटल र विकास बैंक भने क्रमशः १५.८४ र ८.७३ अंकले बढेका छन् ।
बजार घटेपनि लगानीकर्ताको मनोबल भने घटेको छैन । परिसूचक दोहोरो अंकले घट्दा पनि आइतबार झन्डै एक अर्बको कारोबार भएको छ । दिनभरिमा एक सय २६ वटा कम्पनीको १० लाख ८१ हजार सा कित्ता सेयर पाँच हजार एक सय ७५ पटक खरिदविक्रि हुँदा कुल ९६ करोड ४५ लाख ९९ हजार तीन सय ९३ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
गत साता उत्कृष्ट कारोबार भएको कुमारी बैंकले यो साताको सुरुवात पनि सबैभन्दा धेरै कारोबारबाट गरेको छ । बैंकको छ करोड ६७ लाख ७८ हजार नौ सय पाँच रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । धेरै कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सको पनि साढे छ करोडभन्दा माथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक र लुम्बिनी जेनेरल इन्स्योरेन्सको पाँच अर्बमाथिको पुँजी परिचालन भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, माछापूछ्रे बैंक र ज्योति विकास बैंकको चार करोडमाथिको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनी, नेपाल लाइफ इन्स्योरेन्स लगायतको साढे तीन करोडको हाराहारीमा कारोबार भएको छ ।
गत साता धेरै कमाएका रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले आइतबार पनि ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कामना विकास बैंकका सेयरधनीले ९.७० प्रतिशतका दरले कमाएका छन् । कुक्तिनाथ विकास बैंकका सेयरधनीले ६.०८ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । कन्काई विकास बैंक, यति डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, लक्ष्मी भ्यालु फण्ड १ लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा पोखरा फाइनान्स छ, जसका सेयरधनीले ४.३८६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । यसबाहेक, स्टान्डर्ड चार्टर्ड बैंक, स्वाबलम्बन विकास बैंक, ङादी ग्रुप पावर, सगरमाथा फाइनान्स, जनता बैंक, सानिमा माई हाइड्रो, जेविल्स फाइनान्स, वोमी माइक्रोफाइनान्स, अपि पावर कम्पनी, नेपाल बैंक, कृषि विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पूर्णिमा विकास बैंक, एनआईसी एसिया बैंक, ललितपूर फाइनान्स, लक्ष्मी लघुवित्त लगायतले पनि गुमाएका छन् ।




