February 27th, 2023

सहज बन्दै तरलता

बैंकिङ खबर/तरलता सहज बन्दै गएपछि वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने स्थायी तरलता सुविधा (एसएलएफ) घटाउँदै लगेका छन् । गत असार ९ मा एकै दिन २ खर्ब ५० अर्ब रुपैयाँसम्म एसएलएफ लिएका बैंकले अहिले एक महिनामा मात्र उक्त परिमाणबराबर एसएलएफ लिइरहेका छन्।

चालू आर्थिक वर्षको फागुन १२ सम्म वाणिज्य बैंकले २७ खर्ब १७ अर्ब ५७ करोड एसएलएफ लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले ३८ खर्ब रुपैयाँ एसएलएफ लिएका थिए।

गत आर्थिक वर्ष वाणिज्य बैंकले एक महिनामै १२ खर्ब रुपैयाँसम्म एसएलएफ लिएका राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्न राष्ट्र बैंकबाट एसएलएफ लिने गरेका छन्।
बजारमा तरलताको चरम अभाव भएका बेला वाणिज्य बैंकले उच्च मात्रामा एसएलएफ लिने गरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्।

एक प्रतिशत सीआरआर सीमा थपिएसँगै वाणिज्य बैंकले ५० अर्ब रुपैयाँ बढी राष्ट्र बैंकमा राख्नुपर्ने भएको हो। तरलता चाप परेको अवस्थामा सीआरआर सीमा एक प्रतिशत बढाउँदा वाणिज्य बैंकबाट ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गएको बैंकरहरूले बताउँदै आएका छन्।

पुसमा आयकरबापत ४० प्रतिशत, राष्ट्र बैंकले उठाएको आन्तरिक ऋण र पुनर्कर्जा सामान्य कर्जामा रूपान्तरण भए पनि तरलतामा थप दबाब सिर्जना हुने आकलन गरिएको भए पनि त्यस्तो देखिएको छैन। साथै, पुसमा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ। रेमिट्यान्समा आएको वृद्धि, निक्षेप थपिँदै जानु तर कर्जा विस्तार नहुनु र आयात आएको गिरावटका कारण बैंकिङ सिस्टमा सहज देखिएको छ।

फागुनमा वाणिज्य बैंकको औसत सीडी रेसियो ८६.१७ प्रतिशत छ। सबै बैंकको सीडी रेसियो ९० तल देखिन्छ। आर्थिक वर्ष सुरुदेखि बैंकहरूले लिने एसएलएफ निरन्तर घट्दै गइरहेको छ। आर्थिक वर्ष (साउनदेखि पुस ९ सम्म) वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट २६ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ एसएलएफ लिएको छ।

चालू आर्थिक वर्ष भदौमा वाणिज्य बैंकले सबैभन्दा बढी एसएलएफ लिएका हुन्। भदौमा वाणिज्य बैंकले ८ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ एसएलएफ लिएका थिए। त्यसैगरी साउनमा ८ खर्ब १४ अर्ब ७० करोड, असोज ४ खर्ब ६९ अर्ब १२ करोड, कात्तिक ४ खर्ब ३४ अर्ब ३१ करोड, मंसिर १ खर्ब २५ अर्ब ६६ करोड, पुसमा १० अर्ब ११ करोड, माघमा १४ अर्ब १० करोड र फागुन १२ गतेसम्म १० अर्ब ६ करोड एसएलएफ लिएका छन्।