नेपाल राष्ट्र बैंकले झण्डै १५ महिनादेखि जिम्मेवारी सम्हालिरहेका त्रिलचोन पंगेनीलाई प्रवक्ताबाट हटाएको छ । उनलाई २०७२ साल साउनमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तर जिम्मेवारी दिएको डेढ वर्ष पनि नपुग्दै उनलाई हटाइएको हो । हुन त राष्ट्र बैंकमा प्रवक्ता अमुक हुँदैन । यद्यपी जिम्मेवारी दिँदाको अपेक्षा र मुक्त गर्दाको परिस्थितिसम्मले भने कार्यकाल सफलता वा असफलता किटानी गरिरहेको हुन्छ । तर पंगेनीबाट जति अपेक्षा राष्ट्र बैंकले गरेको थियो प्रवक्ता रहुञ्जेल उनले त्यो अपेक्षा पूरा गर्न सकेनन् । मूलतः पंगेनीलाई प्रवक्ताबाट हटाइनुका केही कारणहरु छन् ।
व्यक्तिगत स्वभाव
कुनै पनि निकायले प्रवक्ता तोक्दा उसको व्यवहार, आचरण, र मानिसहरुसँग घुलमिल हुन सक्ने क्षमतामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । प्रवक्ताले जनतादेखि मिडियासम्मलाई संस्थागत सूचना र जानकारीहरु दिनुपर्ने हुन्छ । जिम्मेवारी नै त्यस्तै भएकाले उसलाई कुनै पनि समय कुनै पनि सूचनाको लागि जो कोहीले पनि सम्पर्क गर्न सक्छ । त्यस्तो अवस्थामा पनि उसले सूचना दिने, व्यवस्त भएको अवस्थामा विनम्रतापूर्वक आफ्नो व्यस्तता देखाएर पछि सम्पर्क गर्न आग्रह गर्न सक्नुपर्छ । तर राष्ट्र बैंकका प्रवक्ताको जिम्मेवारी पाएका पंगेनीको झर्कने, रिसाउने र दिक्क मान्ने बानीले उनले आफुले पाएको जिम्मेवारीलाई हल्कामात्र बनाएनन्, धेरै मिडियादेखि राष्ट्र बैंककै कर्मचारीसमेतलाई हैरान पारेका थिए ।
डेपुटी गभर्नर नपाएको रोस
उनले आफुलाई डेपुटी गभर्नरका लागि दाबी गरिरहेका थिए । डेपुटी गभर्नर राजनीतिक भागबण्डाको आधारमा पाउने आशामा उनले कुन पार्टीमात्र चाहारेनन् । सबै राजनीतिक दलले ‘म तपाईकै मान्छे त हो नि’ भनेर सबैतिरबाट फाइदा लुट्न खोज्ने उनको बानी थाहा पाएपछि पुछ्न छाडिदिए । अन्ततः उनको डेपुटी गभर्नर बन्ने प्रयास त्यतिबेलाको लागि त्यही समाप्त भयो । त्यसपछि उनले आफुलाई असहयोग गरेको भन्दै राष्ट्र बैंकका गभर्नर देखि उच्च तहका कर्मचारीसम्म आफ्नो रिस देखाउन थाले । जसका कारण उनी थप अलोकप्रिय बन्दै गए । त्यही कारणले पनि उनको प्रवक्ताको जिम्मेवारी ‘चट’ भएको बताइन्छ ।
गभर्नर, डेपुटी गभर्नरसँगको ‘चिसो’ सम्बन्ध
गभर्नर डा. चिरंजीबि नेपालदेखि डेपुटी गभर्नरद्धय चिन्तमणि शिवाकोटी र शिवराज श्रेष्ठसँग पनि उनको सम्बन्ध त्यति राम्रो छैन । तर सम्बन्ध चिसिनुमा उनकै खरो आचरण मुख्य रहेको राष्ट्र बैंककै कतिपय कर्मचारी बताउँछन् । डेपुटी गभर्नर बन्न नपाएको झोकमा उनले गभर्नर, डेपुटी गभर्नरद्धयको ‘ब्याक बाइटिङ’ समेत गर्दै हिँडेका थिए । बैंकिङ खबर डटकमले तत्कालिन समयमा गभर्नर डा. चिरंजीबी नेपालविरुद्ध पंगेनीले आफ्नो कार्यकक्षमै ब्याक बाइटिङ गरिरहेको तथ्य फेला पारेर खबर सम्प्रेषण समेत गरेको थियो ।
कर्मचारी पंक्तिमा अलोकप्रिय
उनको खरो स्वभावका कारण राष्ट्र बैंकका कर्मचारी नै आजित भएका थिए । उनी प्रवक्ता भएपछि अझै बढी घमण्डी भएको र कर्मचारीलाई दबाएर राख्न खोजेको आरोप उनलाई लाग्ने गरेको थियो । जसका कारण पनि उनी प्रवक्तामा फिट रहिरहन सकेनन् ।
पौडेल अब्बल
अहिले प्रवक्ता तोकिएका नारायण पौडेल कम्युनिकेशनमा अब्बल मानिन्छन् । राष्ट्र बैंकले पंगेनीको विकल्पमा पौडेललाई ल्याएको छ । व्यवहार, आचरण, र मानिसहरुसंग घुलमिल हुन सक्ने क्षमतामा विशेष दखल भएका पौडेल पंगेनीभन्दा सक्षम भएकाले उनलाई प्रवक्ता तोकेको हो ।





