Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विदेशी विनिमय सञ्चितिमा गिरावट, राष्ट्र बैंकसँग ८८० अर्ब

२०७३ कार्तिक ५ गते

nrbचालू आर्थिक वर्षको दोस्रो महिनामा मुलुकको विदेशी विनिमय सञ्चिचिमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, साउन र भदौ महिनामा विदेशी विनिमय सञ्चिति ०.६ प्रतिशतले घटेको छ । गत असार मसान्तमा १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्ममा यस्तो सञ्चिति १० खर्ब ३२ अर्ब ७० करोड रुपैयाँमा झरेको हो ।

हाल मुलुकमा रहेको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा आठ खर्ब ८० अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो, गत असार मसान्तको तुलनामा ०.८ प्रतिशतले कम हो । गत असार मसान्तसम्ममा राष्ट्र बैंकसँग आठ खर्ब ८७ अर्ब एक करोड रुपैयाँ विदेशी विनिमय सञ्चििति रहेको थियो । 

राष्ट्र बैंकसँगको सञ्चिति घटेपनि बैंक तथा वित्तीय संस्थासँगको यस्तो सञ्चिति भने बढेको छ । यो अवधिमा बैंकसँगको विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले बढेको छ । भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ५२ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । जबकि, गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति एक खर्ब ५२ अर्ब २० करोड रुपैयाँ थियो । 

कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।