February 10th, 2023

‘अहिलेको अवस्थामा सेयरबजार राष्ट्र बैंकको प्राथमिकतामा छैन’

बैंकिङ खबर/अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्रबैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले हाल राष्ट्रबैंकको प्राथमिकतामा सेयर बजार लगायतका एसेट मार्केट नपरेको प्रष्ट पारे ।

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘अहिले हाम्रो प्राथमिकतामा आर्थिक स्थायीत्व हो ।’ उनले थपे–’तर तरलतामा सुधार हुँदै जाँदा त्यसले सेयरबजारलाई सहयोग नै गर्छ ।’ 

उनले अझै पनि बाह्य क्षेत्र जोखिममा रहेको, आयात ठूलो आकारमा हुँदा र निर्यात त्यसको तुलनामा सानो आकारमा हुँदा जुनसुकै बेला विगतको समस्या आउनसक्ने डर यथावत रहेका कारण सेयर धितो कर्जा लगायतमा लचक बन्न ध्यान नदिइएको दाबी गरे । 

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि सेयर धितो कर्जाको १२ करोडको सीमामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारे । 

एसेट मार्केटको विषयमा जे जस्तो नीतिगत व्यवस्था छन्, ती सबैलाई निरन्तरता दिइएको छ । ’राष्ट्रबैंकले समष्टीगत आर्थिक स्थायीत्व र व्यवस्थापनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्ने काम गर्छ ।’