Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब अर्को बैंकको एटीएमबाट पैसा झिक्दा कम शुल्क लाग्ने

२०७९ माघ १७ गते

बैंकिङ खबर/ अब एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क कम लाग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् । यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २०.रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटीएम कारोबार शुल्क घटाइएको हो । एकीकृत निर्देशिकामा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।’

अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो । डेविट कार्डबाट एक पटकमा २५ हजार, दैनिक १ लाख र महिनामा ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न पाइने व्यवस्था छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोवाइल एप्लिकेशन (एप) वा इन्टरनेट बैंकिङ मार्फत विद्युतीय रकमान्तर (इन्टर बैंक फण्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरूले प्रतिकारोबार अधिकतम १० सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।