
बैंकिङ खबर/ लामो समयदेखि बैंकवित्तीय संस्थामा देखिएको तरलता अभाव पछिल्लो समय केहि सहज हुँदै गएको छ । डेढ वर्षभन्दा बढी समय खर्च गर्न सक्ने रकमको अभाव भोगेका बैंक तथा वित्तीय संस्थाहरूको अहिले कर्जायोग्य लगानी बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरू एक खर्ब ८४ अर्ब ऋण परिचालन गर्न सक्ने अवस्थामा छन् । चर्काे ब्याजदरले बैंकहरूमा कर्जाको माग घट्न थालेपछि लगानीयोग्य तरलता सहज देखिएको हो ।
विगत डेढ वर्षमा निक्षेप वृद्धि हुन नसक्दा बैंकहरू राष्ट्र बैंकबाट प्राप्त हुने कर्जामै बढी निर्भर थिए । नेपाल बैंकर्स संघका अनुसार गत ८ पुससम्म वाणिज्य बैंकहरूमा निक्षेप ४६ खर्ब ४५ अर्ब पुगेको थियो । त्यसबेलासम्म कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत बुधबारसम्ममा निक्षेप ४७ खर्ब ६ अर्ब कायम भएको छ । त्यस्तै, कर्जा लगानी ४२ खर्ब ७० अर्ब कायम भएको छ । अर्थात्, यसबीच ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने कर्जा लगानी ४७ अर्बले बढेको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलताको संकेत पाएपछि गत बुधबार नै रिभर्स रिपो जारी गरेको थियो । बैंकले सातदिने अवधिको पाँच अर्बबराबरको रिभर्स रिपो जारी गरेको हो । अधिकतम ८.५ प्रतिशतसम्म पुगिसकेको अन्तरबैंक ब्याजदर गत बुधबारसम्म आइपुग्दा ४.७३ प्रतिशत कायम भएको छ ।
बैंकहरूमा तरलता अधिक हुँदा यस्तो ब्याजदर घट्ने र तरलता कम हुँदा यो ब्याजदर बढ्ने गरेको छ । अहिले अन्तरबैंक ब्याजदर घटेकै कारणले राष्ट्र बैंकले पनि तरलता प्रशोचन गरेको हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण नै रिभर्स रिपो हो ।
बैंकहरूमा तरलता सहज हुँदै गएपछि सरकारी सुरक्षणपत्रको धितोमा लिँदै आइरहेको कर्जामा समेत कमी आइरहेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
राष्ट्र बैंकको मासिक विवरण हेर्ने हो भने शोधनान्तर स्थितिमा सुधार हुँदै गएको देखिन्छ । शोधनान्तरलाई बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत मानिन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ ।
अहिले ऋणको ब्याजदर महँगो भएका कारणले पनि कर्जाको माग कम हुँदा तरलता सहज देखिएको ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बताए ।




