Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालको वित्तीय क्षेत्रमा मन्दीको त्रास

२०७९ माघ ११ गते

बैंकिङ खबर/ विश्व अर्थतन्त्र मन्दीमा जाँदै गर्दा नेपालको वित्तीय क्षेत्रमा मन्दीको प्रभाव पर्नसक्ने त्रास देखिएको छ । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनिल केसीले विश्वमा आर्थिक मन्दी आउँदै गर्दा त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने बताए ।

कोभिडपछि लयमा फर्किंदै गरेको पर्यटन व्यवसायमा विश्व अर्थतन्त्र मन्दीमा जाँदा प्रभाव पर्नसक्ने उनले बताए । बढ्दै गरेको पर्यटकको संख्या आर्थिक बन्दी आएमा खर्च गर्नसक्ने पर्यटक घट्नसक्ने जोखिम रहेको उनले बताए । यस्तै विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा रेमिट्यान्समा पनि त्यसको प्रभाव पर्नसक्ने उनको भनाइ छ ।

अध्यक्ष केसीले बैंकहरुले अस्वभाविक ब्याजदर बढाए भन्ने आरोप लागे पनि त्यसमा सत्यता नभएको बताए । कोभिडपछि अमेरिका जस्तो देशमा २/३ प्रतिशतमा रहेको ब्याजदर ८ प्रतिशतसम्म पुगेको अवस्थामा नेपालमा कर्जाको औसत ब्याजदर कोभिड अगाडिको भन्दा १ प्रतिशत विन्दुले मात्रै माथि पुगेको उनले बताए ।

अध्यक्ष केसीले स्थिर ब्याजदर ल्याउँदा त्यसलाई सदुपयोग नगर्ने तर, अहिले मुद्रास्फीति जस्ता कारणले ब्याजदर बढ्दा बैंकको कर्जा नतिर्ने भनेर गतिविधि हुनु गलत भएको बताए ।

कार्यक्रममा बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले आर्थिक परिदृश्य र वित्तीय तथ्यांकहरुको प्रस्तुति गर्दै पछिल्लो चार आर्थिक वर्षमा बैंकहरुको कुल निक्षेप ८५ प्रतिशत कर्जा ९८ प्रतिशतले वृद्धि हुँदा नाफा भने ४० प्रतिशतले मात्रै बढेको तथ्यांक प्रस्तुत गरेका थिए ।

बैंकहरुले व्यवसाय विस्तार गर्दा पनि वित्तीय मध्यस्थता सेवावापतको लागत घटाएर त्यसको लाभ ऋणीलाई ट्रान्सफर गरेर सेवा दिएको बताए । यसले व्यवसाय बढ्दा पनि बैंकहरुको नाफा खासै नबढेको बैंकर केसीको तर्क छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा घटेको उनले बताए ।

चालु आर्थिक वर्षमो निष्कृय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानीवापतको व्यवस्था बढेकोले पनि नाफा प्रभावित बनेको उनले बताए ।
उनले भनेजस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थाका लागि करिब १६ अर्ब छुट्याएका छन् । यस्तै ब्याज नउठ्दा रेगुलेटरी रिजर्भमा १३ अर्ब रुपैयाँ छुट्याएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालुपूँजी कर्जा मार्गदर्शन सम्बन्धी व्यवस्थाले गर्दा पनि निजी क्षेत्रले कर्जाको ब्याज तिर्न नसक्दा खराब कर्जा बढको हो भन्ने प्रश्नमा त्यही मात्रै कारण नभएर समग्र अर्थतन्त्र नै प्रभावित हुँदा पनि खराब कर्जामा वृद्धि भएको बैंकर केसीले बताए ।

नेपाल राष्ट्र बैंकले १ कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा त्रैमासको अन्तिम महिनामा चालुपूँजी कर्जाको सीमा बढाउन नपाइने व्यवस्था छ । त्यसै चालुपूँजी कर्जाबाट बैंक ब्याज जस्ता प्रयोजन बाहिर खर्च गर्न नसक्नेगरी कडाइ गरेको छ ।

Ad