Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको कर्जा नतिरी आन्दोलन गर्नु वित्तीय अपराधः राष्ट्र बैंक

२०७९ माघ ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तोकिएको समयमा साँवाब्याज भुक्तानी नगरेर आन्दोलन गर्नु वित्तीय अपराध भएको बताएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीहरूले कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको र यस्तो प्रवृत्तिले वित्तीय प्रणालीमा नयाँ चुनौती थपेको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरूबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रूपमा बैंकबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको टिप्पणी गरे । ‘बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनका नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रूपमा दबाब दिन मिल्दैन,’ उनले भने, ‘बैंकको अधिकांश कर्जा सार्वजनिक सम्पत्ति र सर्वसाधारणको निक्षेप भएकाले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता र वित्तीय स्थायित्वमा समस्या आउन सक्छ ।’

पछिल्लो समय बैंकहरूमा धेरै चुनौती छन् । समग्र वित्तीय प्रणालीमा नयाँ किसिमका चुनौती देखिएको उनले बताए । बैंकहरूबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने भनी संगठन गरी संगठित रूपमा बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने खालका कुरा बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रूप हो,’ उनले भने ।