बुधबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । नेप्से परिसूचक ४.८४ अंकले घटेर १७८७.८९ अंकमा कायम भएको छ । कारोबार रकममा भने मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगलबार ५० करोडको कारोबार भएको बजारमा बुधबार ५६ करोडको कारोबार भएको छ । दिनभरिमा एक सय २१ वटा कम्पनीको आठ लाख ५० हजार दुई सय ३४ कित्ता सेयर तीन हजार दुई सय ९९ पटक खरिदविक्रि हुँदा कुल ५६ करोड ४६ लाख दुई हजार नौ सय ७९ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो ।
होटलबाहेक बुधबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ५७.१३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनानस, उत्पादनमूलक र अन्य क्रमशः १.८४, ४.४४, ३.८३, १.९९, ६.८२ र ७.८१ अंकले घटेका छन् । होटल भने २.२५ अंकले बढेको छ ।
कुमारी बैंकको सबैभन्दा धेरै पाँच करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको झन्डै तीन करोडको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको साढे दुई करोडमाथिको कारोबार भएको छ । माछापूछ्रे बैंक, ज्योति विकास बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्स, एभरेष्ट बैंक, जनता बैंक लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।
रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले बुधबार १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कामना विकास बैंकका सेयरधनीले ९.७५ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, त्रिवेणी विकास बैंक, ज्योति विकास बैंक, नमस्ते वित्तीय संस्था, समिट माइक्रोफाइनान्स, मन्जुश्री फाइनान्स, जनता बैंक लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।
विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४.४६ प्रतिशतले गुमाउँदा सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२५ प्रतिशतका दरले गुमाएका छन् । कन्काई विकास बैंक, निर्धन उत्थान बैंक, नेशनल हाइड्रोपावर कम्पनी, जानकी फाइनान्स शाइन रेसुंगा डेभलपमेन्ट बैंक, नेपाल ग्रामीण विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।



