Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा ६.७% ले घट्यो

२०७९ माघ २ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको ५ महिनामा सेयर धितोमा जाने कर्जा ६.७ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ९ करोड १६ लाख रुपैयाँ सेयर धितोमा जाने कर्जा दिएका छन् । असार मसान्तको तुलनामा ६.७ प्रतिशतले कम हो । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा दिएका थिए ।

नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोडभन्दा बढी, २५ देखि ५० लाख र २५ लाखसम्मको कर्जा घटेको छ । यो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा भने बढेको छ ।

मंसिर मसान्तसम्म १ करोड भन्दा बढी कर्जा ८.१ प्रतिशते घटेको छ । असार मसान्तमा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा मंसिर मसान्तसम्म ४२ अर्ब ८० करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यस्तै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा ११.४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म २५ देखि ५० लाख रुपैयाँसम्म जाने कर्जा ११.४ प्रतिशतले घटेर १३ अर्ब ४६ करोड १२ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा यस्तो कर्जाको सिमा १५ अर्ब २० करोड ८ लाख रुपैयाँ रहेको थियो ।

मंसिर मसान्तसम्म २५ लाखसम्म जाने कर्जा ०.२ प्रतिशतले घटेको छ । असार मसान्तमा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा मंसिर मसान्तसम्ममा ०.२ प्रतिशतले घटेर ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

केन्द्रीय बैंकका अनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने कर्जा भने १ प्रतिशतले बढेर १० अर्ब ६६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन असार मसान्तमा १० अर्ब ५६ करोड ३ लाख रुपैयाँ रहेको थियो ।