
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताउनुभएको छ ।
सोमवार आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताउनु भयो ।
उहाँले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताउनु भयो । बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनीयमनमा बस्नुपर्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ । संस्थाहरु थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । अर्थतन्त्रमा बैंकिङ्ग प्रणालीको इण्डिभिज्युअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो । यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ ।’
गभर्नर अधिकारीले बैंक मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताउनु भयो । वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिएको भए पनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको उहाँले स्पष्ट पार्नुभयो ।




