
बैंकिङ खबर/नेपाल राष्ट्र बैकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि लचिलो बनेको राष्ट्र बैंकले बुधबार पत्रकार सम्मेलन गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
संंशोधनको मुख्य बुँदामा गत कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएको चालु पुँजी कर्जा नविकरण गर्दा सीमा भन्दा बढी भएको अवस्थामा २०८२ असार मसान्तसम्ममा ५ वटा किस्तामा चुक्ता गर्नुपर्ने विषय समेटिएको छ । पहिलो किस्तामा १० प्रतिशत, दोस्रो, तेस्रो, चौथोमा २०–२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशत गरेर सो कर्जा चुक्ता गर्नुपर्नेछ ।
यसअघि ५० लाखसम्मको चालु पुँजी कर्जा यो मापदण्ड भित्र समेटिएकोमा अब १ करोडसम्मको कर्जा चालु पुँजी कर्जा मार्गदर्शनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाले प्रदान गर्न सक्नेछन् । २ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा भने अनुमानित वार्षिक कारोबारसम्म मात्र चालु पुँजी कर्जा दिन पाइने छ । अपेरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, आदिको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइदामा सो कारण उल्लेख गरी वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म पनि चालु पुँजी कर्जा कायम गर्न सकिने नयाँ संशोधनमा उल्लेख छ ।
२ करोडभन्दा बढी चालु पुँजी कर्जाको लागि भने स्थायी रुपमा चाहिने चालु पुँजी र अस्थिर रुपमा चाहिने चालु पुँजीको आवश्यकता पहिचान गर्नुपर्ने उल्लेख छ । स्थायी चालु पुँजी कर्जाको लागि ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्ने संशोधनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिकमा एकपटक चालु सम्पत्ति र दायित्वको अनिवार्य निरीक्षण गरी सो प्रतिशत कर्जा अद्यावधिक गर्नुपर्ने र वर्षमा एकपटक आकस्मिक निरीक्षण गर्नुपर्ने समेत संशोधनमा उल्लेख छ । चालु पुँजी कर्जा तिर्नुपर्ने कर्जा समय सीमासम्म नतिरेमा पनि प्रोभिजन गर्न नपर्ने भएको छ ।
संशोधनको पूर्णपाठ




