साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । गिरावटको दर भने क्रमश घट्दै गएको छ । सोमबार १०.३८ अंकले घटेको बजार मंगलबार सामान्य ०.६३ अंकले घटेर १७९२.७३ अंकमा कायम भएको छ । वार्षिक नविकरण शूल्क नबुझाउने कम्पनीहरुको कारोबार रोक्का गरिएकाले कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ । सोमबार ६३ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जमा मंगलबार जम्मा ५० करोड रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय १५ वटा कम्पनीको सात लाख तीन सय ९५ कित्ता सेयर तीन हजार एक सय ८९ पटक खरिदविक्रि हुँदा कुल ५० करोड ८६ लाख ६७ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएकामध्ये होटल, बीमा र अन्य समूह बढ्दा अरु समूह सामान्य मात्रै घटेपछि बजारमा केही सुधार देखिएको हो । नेप्सेका अनुसार, होटल समूह ५.५८ अंकले बढ्दा बीमा ८.९५ अंकले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै १०.९९ अंकले बढेको छ । जलविद्युत् सबैभन्दा धेरै १०.३३ अंकले घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक र फाइनान्स समूह क्रमशः २.९१, ३.७५, ३.३६ अंले घटेका छन् ।
मंगलबार पनि कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । यद्यपि, कारोबारको मात्रा भने क्रमशः घट्दै गएको छ । सोमबार साढे सात करोडको कारोबार भएको बैंकको मंगलबार पौने पाँच करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको तीन करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट बैंकको झन्डै साढे दुई करोडको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको कारोबारले पनि दुई करोड नाघेको छ । नेपाल बैंकको झन्डै दुई करोडको कारोबार भएको छ । सानिमा बैंक, ज्योति विकास बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, माछापूछ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको डेढ करोडभन्दा माथिको सेयर कारोबार भएको छ ।
रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले मंगलबार सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले कमाएका छन् भने कामना विकास बैंकका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका छन् । तिनाउ डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर कम्पनी लगायतले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रिलायन्स लोटल फाइनान्स रहेको छ, जसका सेयरधनीले ८.६८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । गहेश्वरी मर्चेन्ट बैंकका सेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले ६.२९ प्रतिशतले गुमाएका छन् भने नमस्ते वित्तीय संस्थाका सेयरधनीले ३.७५ प्रतिशतले गुमाएका छन् । ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिटिजन्स बैंक, नेपाल बंगलादेश बैंक, बरुण हाइड्रोपावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



