दशैँपछि कारोबार खुलेको पहिलो दिनमा नै लगानीकर्तालाई निराश पारेको सेयर बजार सोमबार पनि उकासिन सकेको छैन । आइतबार १६.१४ अंकले घटेको नेप्से परिसूचक सोमबार १०.३८ अंकले घटेर १७९३.३६ अंकमा कायम भएको छ । बजार खुलेको केही बेरमा नै १७ अंकसम्मले घटेको बजार अन्तमा सम्हालिएर बन्द भएको हो । जलविद्युत् र अन्य समूहबाहेक सबै समूह ओरालो लागेका छन् । बीमा, होटल र बैंकिङ समूहले सोमबारको बजार घटाएका छन् । यी समूह क्रमशरुः ६२.०१, २२.७५ र १४.३९ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स पनि क्रमशः ३.७४ र २.६९ अंकले घटेका छन् । जलविद्युत् र अन्य समूह भने क्रमशः १७.७६ र ०.८७ अंकले उकालो लागेका छन् । आइतबार कारोबार भएका सबै समूह ओरालो लागेका थिए ।
सोमबार पनि आइतबारकै हाराहारीमा पुँजी परिचालन भएको छ । आइतबार ६० हरोड आठ लाख ६३ हजार सात सय १४ रुपैयाँको कारोबार भएको बजारमा सोमबार ६३ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय १६ वटा कम्पनीको सात लाख ८३ हजार नौ सय ९८ कित्ता सेयर तीन हजार छ सय ५३ पटक खरिदविक्रि हुँदा ६३ करोड ६७ लाख ८६ हजार आठ सय २२ रुपैयाँ पुँजी परिचालन भएको हो । नेप्सेले वार्षिक नविकरण शूल्क समयमा नै नबुझाउने कम्पनीको सेयर कारोबार धमाधम रोक्का गराउन थालेपछि सोको प्रभाव सेयर कारोबारमा देखिएको हो ।
आइतबार पौने १८ करोडको कारोबार गर्दै कारोबारका आधारमा अग्रस्थानमा रहेको कुमारी बैंक सोमबार पनि अग्रस्थानमा नै रहेको छ । यद्यपि, कारोबार रक मभने उल्लेख्य रुपमा घटेको छ । कुमारी बैंकको सोमबार साढे सात करोडभन्दा बढीको सेयर कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको झन्डै पौने ६ करोडको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको पाँच करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ज्योति विकास बैंकको झन्डै पौने पाँच करोड रुपैयाँको कारोबार हुँदा शिखर इन्स्योरेन्सको झन्डै तीन करोड रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट बैंकको साढे दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको झन्डै सवा दुई करोड र नेपाल लाइफ इन्स्योरेन्सको झन्डै दुई करोडको कारोबार भएको छ भने एसबीआई बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कुल ४१ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ५.८१ प्रतिशदेखि न्युनतम ०.१२३ प्रतिशतसम्मले कमाएका छन् । सबैभन्दा धेरै कामना विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा थोरै एनएमबी बैंकका लगानीकर्ताले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, ज्योति विकास बैंक र हिमालयन जेनेरल इन्स्योरेन्सका सेयरधनीले २ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । यसबाहेक, १४ वटा कम्पनीका सेयरधनी एक प्रतिशतभन्दा बढीले कमाएका छन् भने बाँकीले एक प्रतिशतभन्दा कमका दरले आफ्नो सम्पत्ति बढाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको किसान माइक्रोफाइनान्सका सेयरधनीले ५.८४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । आईसीएफसी फाइनान्स, त्रिवेणी विकास बैंक, साझा विकास बैंक र नमस्ते वित्तीय संस्थाका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । लक्ष्मी लघुवित्त, तिनउ डेभलपमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एसियन लाइफ इन्स्योरेन्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



