Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विदेशी मुद्राको सञ्चिति १५ करोड डलरले बढ्यो

२०७९ मंसिर २९ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार  असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो ।

चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो । यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो । विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले वचतमा गएको छ । असोज मसान्तमा शोधानान्तरस्थिति १२ अर्ब ४३ करोड रुपैयाँले वचतमा थियो ।