
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभाका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भन्नुभयो, ‘विगतको विकृतिले आज समस्या निम्त्याएको हो । यसलाई निरन्तरता दिएमा भोलि झनै समस्या हुन्छ ।’ बजार र वित्तीय क्षेत्रमा भएको विकृति असहज अवस्थामा सुधार गर्नु हुँदैन भन्दै जाँदा झनै समस्या थपिने उहाँको भनाइ छ ।
उहाँले राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका खोस्दा झन् धेरै समस्या आउने भन्दै त्यसो नगर्न सुझाव पनि दिनुभयो । ‘तोक्ने कुरा तोकौंला, लघुवित्तको ब्याजदर १५ तोकेका छौं । बैंकमा पनि तोकौंला । तर त्यसले हामीलाई कहाँ लैजान्छ ?’ उहाँले भन्नुभयो । हस्तक्षेपले नकारात्मक प्रभाव पर्ने भन्दै त्यसमा निजी क्षेत्रले समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै उहाँले अर्थतन्त्र सुधारको बाटोमा गइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो , ‘भित्रि रुपमा सहजता भइरहेको भए पनि बजारमा भने केही मात्रामा सहजता आउन सकेको छैन । यसमा पनि विस्तारै सुधार हुनेछ ।’ अर्थतन्त्रलाई सुधार गर्ने विषयमा अफूले कुनै पनि काम गर्न बाँकी नराख्ने उहाँको भनाइ छ ।



