आइतबार नेपाल स्टक एक्सचेन्जमा ६० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । दिनभरिमा एक सय २२ वटा कम्पनीको सात लाख ६७ हजार पाँच सय ४४ कित्ता सेयर तीन हजार दुई सय ५४ पटक खरिदविक्रि हुँदा कुल ६० करोड आठ लाख ६३ हजार सात सय १४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । कारोबार खुलेको सुरुमा उकालो लागेको नेप्से परिसूचक पनि अन्ततः घटेर बन्द भएको छ । १६.१४ अंकको गिरावटसँगै परिसूचक १८०३.७४ अंकमा कायम भएको छ ।
कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ८१.४६ अंकले घट्दा होटल ७२.३६ अंकले घटेको छ भने जलविद्युत् १८.६७ अंकले घटेको छ । सबैभन्दा थोरै फाइनान्स समूह ५.२७ अंकले घटेको छ भने विकास बैंक ९.६८ अंकले घटेको छ । बैंकिङ १५.४८ अंक र अन्य समूह ११.८६ अंकले घटेको छ ।
कारोबारका आधारमा आइतबार कुमारी बैंक अग्रस्थानमा छ, जसको पौने १८ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको सवा पाँच करोड रुपैयाँको कारोबार हुँदा बैंक अफ काठमाण्डू लुम्बिनीको झन्डै साढे चार करोडको कारोबार भएको छ भने एभरेष्ट बैंक, ज्योति विकास बैंक र शिखर इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । त्यस्तै, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सानिमा बैंक र सोल्टी होटलको एक करोडमाथिको कारोबार हुँदा हिमालयन बैंकको ९५ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ ।
ज्योति विकास बैंकका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै ९.८९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने कामना विकास बैंकका लगानीकर्ताले ७.२७ प्रतिशतका दरले कमाएका छन् । मिरमिरे माइक्रोफाइनान्स, अपि पावर ग्रुप, जनउत्थान सामुदायिक लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई समुन्नत स्किम १, रिलायबल माइक्रोफाइनानस, रिलायन्स लोटस फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक लगायतले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा आइतबार पूर्णिमा विकास बैंक रहेको छ, जसका सेयरधनीले ४.३७३८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । प्रभु इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलमपमेन्ट बैंक, सोल्टी होटल, लुम्बिनी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, स्वाबलम्बन विकास बैंक, छिमेक लघुवित्त, सेवा विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिटिजन्स बैंकका सेयरधनीले तीन प्रतिशतभन्दा बढीइका दरले गुमाएका छन् ।

